इलाम । रोजगारीको आशा देखाएर भारतको दार्जिलिङतर्फ लगिँदै गरेका तीन बालिकाको मंगलबार साँझ इलामको सिमावर्ती पशुपतिनगर नाकाबाट उद्धार गरिएको छ ।

१३, १६ र १७ वर्षीया बालिकालाई घरेलु काममा लगाइदिने भन्दै नाका कटाउन लाग्दा नाकामा बसेको माइती नेपाल, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बालिकाको उद्धार गरेको हो । मकवानपुरको हेटौंडा माइतीघर भई दार्जिलिङ बस्दै आएकी ३३ वर्षीया अनु तामाङले मकवानपुर भीमफेदी गाउँपालिका लामिडाँडा-९ बस्ने तामाङ थरका ती बालिकाहरूलाई सीमापार गराउँदै गर्दा उद्धार गरिएको थियो ।

ती महिलाले बालिकाहरु आफन्त भएको र उनीहरुलाई घरेलु काममा लगाउने भनेर लगेको सोधपुछको क्रममा बताएकी थिइन् । यस विषयमा थप अनुसन्धान गर्न माइती नेपालले उद्धार गरिएका बालिका र ती महिलालाई इलाका प्रहरी कार्यालय पशुपतिनगरको जिम्मा लगाएको माइती नेपाल पशुपतिनगरका संयोजक होम ढकालले बताउनुभयो ।

ती महिलाले मानव बेचविखनकै लागि नभए पनि बालबालिकालाई घरेलु काममा लगाउने भनेपछि नेपालको कानुननले बालबालिकालाई काममा लगाउन नपाइने नियम भएकाले उनीहरुलाई नाकामा रोकेर उद्धार गरिएको हो ।

कोरोना महामारी र लामो समयसम्मको लकडाउनका कारण घरको आर्थिक अवस्था कमजोर भएपछि धेरै किशोरीलाई रोजगारीको प्रलोभनमा पारेर मानव तस्करले भारतमा पुर्याउने गरेका छन् । पछिल्लो समय यो नाका मानव बेचविखनको प्रमुख ट्रान्जिट बन्दै जाँदा माइती नेपाल र प्रहरीलाई यसको नियन्त्रणमा चुनौती थपिँदै गएको छ ।

सोही नाकाबाट डेढ महिनाको अवधिमा मात्र १० जना किशोरीको उद्धार गरिसकेको संयोजक ढकालले जानकारी दिनुभयो । मानव बेचविखनमा पर्न लागेका उनीहरुको उद्धार भएको हो ।