भद्रपुर । सरकारले आगामी बैशाख महिनामा घोषणा गरेको निर्वाचनका लागि झापाका केही मतदानस्थलहरुलाई परिवर्तन गरिएको छ ।

जिल्लास्तरीय मतदानस्थल सिफारिस समितिले जटिल मतदानस्थलहरुलाई परिवर्तन गर्ने निर्णय गरेको हो । शुक्रवार जिल्ला प्रशासन कार्यलय झापाको सभाहलमा भएको सिफारिस समितिको बैठकले झापाको बाह्रदर्शी ७ डाँगीवारीमा रहेको संयुक्त वडा कार्यालयलाई गौरीशंकर मावि कायम गर्ने र सोही वडाको विरिङ्ग नदी पश्चिम तर्फका मतदाताका लागि पशुपति आधारभूत विद्यालयलाई मतदानस्थल कायम गर्ने निर्णय गरेको छ ।

यसैगरी शिवसतासी १० को ट्याक्रा मतदानस्थललाई सोही स्थानमा रहेको दिपेन्द्र आधारभूत विद्यालयमा कायम गर्ने र कमल गाउँपालिका ५ सिम्लेका मतदाताका लागि छुट्टै मतदानस्थल तय गरिने भएको छ । त्यसैगरी अर्जुनधारा ४ दहीझोडाका मतदाताका लागि लक्ष्मी आधारभूत विद्यालय, मेचीनगर १० को पुरानो मतदानस्थल कृषि विकास बैंकको सट्टा सोही स्थानमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ मतदानस्थल कायम गर्ने निर्णय गरिएको छ ।

अन्य मतदानस्थललाई यथावत राख्ने निर्णय गरिनुका साथै यही माघ १५ गतेदेखि २१ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्ने निर्णय बैठकले गरेको छ । २०७४ सालको निर्वाचनमा जटिल देखिएका मतदानस्थलहरुलाई परिवर्तन गरिएको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा भएको बैठकको सहजीकरण जिल्ला निर्वाचन कार्यालय झापाका कार्यालय प्रमुख तुलसीकुमार नेपालले गरेका थिए ।

बैठकमा सरोकारवाला संम्वन्धित गाउँपालिका तथा नगरपालिकाका प्रमुख, राजनीतिक दलका प्रतिनिधिलगायतका झापाका तीनवटै सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । झापामा २०७४ सालको निर्वाचनमा २ सय ८३ वटा मतदानस्थल र ६ सय ९२ वटा मतदान केन्द्र रहेका थिए ।