सुनसरी । इटहरी उपमहानगरपालिका १६ र १७ का भित्री सडक निर्माण र विस्तारका क्रममा विस्थापित मुसहर समुदायका विपन्न ९ परिवारले पहिलो चरणमा सुरक्षित घरमा बस्न पाउने भएका छन् ।

उपमहानगरकी उपमेयर लक्ष्मी गौतमका अनुसार वडा १६ स्थित टिहिटी टोलमा सामूहिक आवास कार्यक्रमअन्तर्गत घर निर्माण सकिएको छ । सडक किनारामा झुपडी बनाएर बसेका अति विपन्न मुसहर परिवारको पहिचान भइसकेको र तीमध्ये ९ वटा घर तयार भइसकेको उनले बताइन् ।

इटहरी उपमहानगर र तराई मधेस समृद्धि कार्यक्रमको सहकार्यमा ७७ लाख रुपैयाँ लगानीमा ती घर निर्माण गरिएको हो । सामूहिक बस्तीभित्र बाटो, खानेपानी, विद्युत्, शौचालय, चिल्ड्रेन पार्क, सामुदायिक भवन र मठसमेत बनाइएको उपमेयर गौतमले बताइन् ।

‘घर प्राप्त गर्ने विपन्न मुसहर परिवारको पहिचान भए पनि छनोट गर्न भने बाँकी छ । घरघरमा सोलारको जडान गर्ने पनि हुँदै छ, माघ तेस्रो साताभित्र ९ परिवारलाई ती घर हस्तान्तरण गर्छौं,’ उनले भनिन् । टिहिटी टोलमा ५० घर निर्माण गर्ने योजना रहेको उपमहानगरले जनाएको छ ।