बिर्तामोड । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको पहलमा अनारमनी दुर्गा स्थान गुठीको जग्गा केशवप्रसाद विमलीले फिर्ता गर्नु भएको छ ।

२०७७ माघ १२ गते भूमिसुधार तथा मालपोत कार्यालय झापामा उपस्थित भई विमलीले ‘हक छाड सनाखत’ गरी जग्गा फिर्ता गर्नु भएको हो । नेपाल सरकारको सहसचिव समेत रहनुभएका विमलीले आमा टीकादेवी विमलीको नाममा मोही खरिद गरिएको जग्गा फिर्ता गर्नु भएको महान्यायाधिवक्ता खरेलले जानकारी दिनुभयो ।

माघ १२ गते भूमिसुधार तथा मालपोत कार्यालय झापामा केशवप्रसाद विमलीले दिनुभएको निवेदनमा भनिएको छ, ‘बादी टीकादेवी विमली र विपक्षी गुठी संस्थान केन्द्रीय कार्यालय काठमाडौं भएको मुद्धामा सम्मानित सर्वोच्च अदालतले २०६६ फागुन ९ मा भएको फैसला अनुसार जिल्ला झापा अनारमनी गाविस वडा नम्वर ५ कित्ता नम्वर १२०, ८२२, ८२५ र ८१५ कित्ता जग्गाहरु जग्गाधनी अनारमनी दुर्गा स्थान राजगुठीका नाउँमा रहेको जग्गामा मोही टीकादेवी विमली कायम गर्ने भनी भएको फैसला बंमोजिम दाखिल दर्ता भै मोही कायम हुन आउने माथि उल्लेखित जग्गाहरुको हकमा म निवेदक केशवप्रसाद विमलीले दर्ता नम्वर २५३९३ मिति २०६७ जेठ २ मा माग निवेदनमा म निवेदकको आमा टीकादेवी विमलीको मिति २०६२ बैशाख २५ मा मृत्यु भएको हुँदा मेरो नाम कायम गरी पाउन निवेदन पेश गरेको भए तापनि उक्त जग्गामा कायम हुन आउने मोही भएकाले माथि उल्लेखित कित्ता नम्वर १२०, ८२२, ८२५ र ८१५ को जग्गा क्रमशः १ विगाहा २ कठ्ठा १० धुर, ६ कठ्ठा, १३ कठ्ठा र ७ कठ्ठा ८ धुर जग्गाहरुबाट प्राप्त हुने जग्गाहरुको हकमा म निवेदकले उक्त जग्गाहरु अनारमनी दुर्गा स्थान राजगुठी संस्थानकै नाममा दाखिला दर्ता गरी दिने गरी म मोहीको हक लाग्ने जग्गा गुठी संस्थानलाई हक प्रदान गर्न समहत भएको छु ।’

निवेदक विमलीले आमाको आफु एक मात्र हकदार भएकाले मोही लगत कट्टा समेत गरी दिनु हुन उल्लेख गर्नु भएको छ । विमलीको निवेदनपछि विर्तामोड ३ मा रहेको डोमालाल राजवंशी रंगशाला भएको जग्गा गुठीकै नाममा फिर्ता भएको छ । अब कित्ता नम्वर ८२० को ८ कठ्ठा रमेश महर्जनको नाममा र ८१२ को ७ कठ्ठा सूर्यकुमार विमलीको नाममा रहेको छ ।

विर्तामोड ३ को गुठीका नाममा रहेको जग्गा फिर्ता ल्याएको प्रसंगमा रेडियो भिजनसँग कुराकानी गर्दै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले भन्नुभयो, ‘राज्यको सम्पत्ति व्यक्तिको नाममा भएको थियो । त्यसलाई राज्यकै मातहत ल्याउन आवश्यक थियो । स्थानीय बासिन्दाको सहयोगमा यो काम सम्पन्न भएको हो ।’ उहाँले बाँकी १५ कठ्ठा जग्गा पनि फिर्ता ल्याउन पहल गर्ने बताउनुभएको छ । रेडियाे भिजनबाट