बिर्तामोड । नेपाल सरकारले क्यान्सर रोगका बिरामीलाई उपलब्ध गराउँदै आएको एक लाखबराबरको उपचार सेवा अब झापा बिर्तामोडको पूर्वाञ्चल क्यान्सर हस्पिटलबाटै हुने भएको छ ।

पूर्वकै सुविधा सम्पन्न बिएन्डसी टिचिङ हस्पिटलसँगै एक वर्षअघि सञ्चालनमा आएको पूर्वाचल क्यान्सर हस्पिटलले सरकारसँग सम्झौता गरी उक्त सेवा उपलब्ध गराउन थालेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

हस्पिटलका मेडिकल डाइरेक्टर विरेन्द्र यादवका अनुसार विपन्न नागरिक औषधि उपचार कोष नाम दिएर सरकारबाट उपलब्ध हुने एक लाखबराबरको उपचार सेवा प्रदान गर्न लागिएको हो । क्यान्सरपीडित बिरामी विपन्न भएको स्थानीय तहले पहिचान गरी सिफारिस गरेको खण्डमा हस्पिटलले उपचार सेवा उपलब्ध गराउने उनले बताए ।

स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा संयोजकको बैठकबाट निर्णय भइ सिफारिस भएको खण्डमा हस्पिटलले बिरामीको उपचार गर्ने डा. यादवले बताए । एक लाखबराबरको उपचार सेवा गरिने भए पनि यो सेवा बायोप्सी रिपोर्टले क्यान्सर रोग लागेको प्रमाणित भएको हुनुपर्ने अनिवार्य रहेको छ ।

‘जसलाई क्यान्सर रोग लागेको प्रमाणित हुन्छ अनि मात्र सरकारी सुविधाको रकम चालु हुन्छ’, उनले भने, ‘यो रकमले क्यान्सर रोगको जुनसुकै उपचार पनि गर्न सकिन्छ ।’ अन्यत्र उपचार गराइरहेका तर सरकारी सेवा नलिएका बिरामीले पनि अब पूर्वाञ्चल क्यान्सर हस्पिटलबाट सेवा लिनसक्ने उनको भनाइ छ ।

नेपाल सरकारको स्वास्थ्य महाशाखासँग हस्पिटलले पुस २१ गते नै सम्झौता गरी उपचार सेवा सुरु गरिसकेको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म ८ जनाले यो सेवा लिइसकेका छन् ।

कोही पनि बिरामी उपचारबिना फर्किन नपरोस् भनेर हस्पिटलले सरकारसँग सम्झौता गरेको उल्लेख गर्दै जनसम्पर्क अधिकारी गिरीले भरतपुर क्यान्सर अस्पतालले तोकेको उपचार दररेटमै पूर्वाञ्चल क्यान्सर हस्पिटलले उपचार सेवा उपलब्ध गराउने पनि जानकारी दिए ।

अहिलेसम्म हस्पिटलबाट २७ हजार ८ सय जनाले क्यान्सरको ओपीडी सेवा लिएको डा यादवले जानकारी दिए । उनका अनुसार हस्पिटलमा ३ हजार २ सय नयाँ बिरामीको उपचार भइरहेको र यसमध्ये ३ सय जनाको शल्यक्रिया गरिएको बताइएको छ ।