धनकुटा । शुक्रबार मुलुकभर शहीद दिवस मनाइरहँदा तेह्रथुम र धनकुटाका शहीद परिवारले भने राज्यले दिने भनेको सुविधा अझै पाएका छैनन् ।

विस २०३६ सालमा पञ्चायती शासनको विरोध गर्दा फरक विचार राखेको भन्दै तत्कालीन सरकारले खोकु, छिन्ताङ र आँखीसल्लाका १६ स्थानीयको हत्या गरेको थियो ।

हत्याभएको करिब चार दशकपछि सरकारले विस २०७४ पुसमा शहीद घोषणा गर्नुका साथै पीडित परिवारलाई १०-१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो । तर, हालसम्म राज्यले छिन्ताङ काण्डका शहीद परिवारलाई उक्त राहत रकम उपलब्ध गराएको छैन ।

राज्यले आफुहरुलाई उपेक्षा गरेको शहीद परिवारको गुनासो छ । तत्कालीन सैनिक-प्रहरीको ज्यादतीले आफूहरु आतंकित बनेको घटना अझै स्मरणमा रहेको शहीद पत्नी थाममाया राईले बताउनुभयो ।