झापा । नगरमा कुष्ठरोगबाट प्रभावित रहेका व्यक्तिलाई जाडो मौसममा फाइवरको ओढ्ने सिरक बाँड्दै अर्जुनधारा नगरपालिकाले ६८औँ विश्व कुष्ठरोग दिवस मनाएको छ ।

कुष्ठरोगबाट प्रभावित भएका ९ जनालाई नगरको स्वास्थ्य शाखाले न्यानो कपडा वितरण गरेको हो । सोही कार्यक्रममा कुष्ठरोगको अवस्थाबारे नेपाल कुष्ठरोग संगति (एनएलएफ) झापाले अन्तरक्रिया पनि गरेको छ ।

एनएलएफ झापाका कार्यक्रम संयोजक दिपक घिमिरेका अनुसार झापाका १५ पालिकामध्ये अर्जुनधारा सातौँ स्थानमा रहेको छ । यो तथ्यांक गत असार मसान्तसम्मको हो । सबैभन्दा बढी प्रभावित कचनकवल गाउँपालिका रहेको छ ।

उनका अनुसार कचनकवलमा सबैभन्दा बढी २० जना कुष्ठरोगबाट प्रभावित बनेका छन् । अर्जुनधारामा ९ जनाको तथ्यांक भए पनि चार जनाले नियमितरुपमा मात्राअनुसार औषधि सेवन गरेका कारण अहिले ५ जनाले मात्र औषधि सेवन गरिरहेका छन् । कात्तिकसम्म ५ जनाको तथ्यांक रहेको छ भने चार जनाले पूर्णरुपमा औषधि लिइसकेका छन् । अर्जुनधाराको हकमा यो रोग निवारणका क्रममा र नियन्त्रणमा रहेको तथ्यांक छ ।

विश्वमा सबैभन्दा बढी भारतमा कुष्ठरोगीको संख्या रहेको छ । विश्वमा कुष्ठरोगबाट प्रभावितको संख्यामध्ये भारतमा ६० प्रतिशत रहेको कार्यक्रम संयोजक घिमिरेले जानकारी दिए । उनका अनुसार नेपालका १७ जिल्लामा १४३ जना कुष्ठरोगबाट प्रभावित छन् । जसमा ६२ जना महिला ८१ जना पुरुष रहेका छन् । सबैभन्दा बढी महोत्तरीमा यसबाट प्रभावित व्यक्ति छन् ।

श्वासको माध्यमबाट माइक्रो व्याक्टेरियन लेप्रे मानिसमा सर्दा कुष्ठरोग लाग्दछ । प्रति सय जनामध्ये ३ जनामा यो रोग सर्ने बताइएको छ । तर, यो रोगबाट प्रभावित व्यक्तिले एक पटकमात्र औषधि सेवन गरेको खण्डमा ९९ प्रतिशत उक्त रोग नसर्ने कार्यक्रम संयोजक घिमिरेले बताए ।

यो रोगबाट प्रभावित व्यक्तिलाई नेपाली समाजमा नकारात्मकको दृष्टिले हेर्ने भएका कारण रोग लुकाइने हुँदा एकबाट अर्को व्यक्तिमा रोग सर्ने गरेको पनि घिमिरेको भनाइ छ । यो रोग सरिहालेको खण्डमा प्रभावित व्यक्तिको अंगभंग हुने, रोजगार गुम्ने र सिंगो परिवार नै गरिबीतर्फ धकेलिने भएकाले समयमै स्वास्थ्यकर्मीको सम्पर्कमा आएर औषधि सेवन गर्नुपर्ने उनको सुझाव छ ।

अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको अध्यक्षता तथा स्वास्थ्य शाखाकी सहसंयोजक दुर्गा चापागाईंको सञ्चालनमा भएको कार्यक्रममा एनएलएफ झापाका स्वास्थ्यकर्मी पर्शुराम पोखरेल, अन्द्रियास मगर, प्रभावित व्यक्तिलगायत सञ्चारकर्मीको सहभागिता रहेको थियो ।