झापा । आगोले चारैतिरबाट छोपिसकेको थियो, शारीरिकरुपमा सवलांग भएको भए सायद भागेर ज्यान जोगाउन सक्थे होलान् तर पूरै शरीर नचल्ने भएपछि उसले आगोमै खरानी हुनुपर्यो । झापाको कचनकवल १ घेराबारीमा भएको आगलागीबाट ६६ वर्षिय गोबर्धन राजबंशीले त्यसरी आगोमा छट्पटिदै ज्यान गुमाउनु परेको हो ।

आइतबार मध्यरातमा राजवंशीको काठको खम्बा, टिनको बेरा र टिनकै छानो भएको एकतल्ले घरमा अचानक आगलागी भएको थियो । भुइँ तलामा गाईवस्तु बाँध्ने ग्वाली र एकतलामा मानिस सुत्ने कोठा थियो । पाँचवटा कोठामध्ये उत्तरपट्टीको कोठामा घरधनी गोबर्धन एक्लै सुतेका थिए ।

कम्मरमा समस्या भएका कारण उनलाई हिँडडुल गर्न गाह्रो थियो । उनले सेवन गरेको बिडी चुरोटबाट आगो सल्केको अनुमान गरिएको छ । आगो सल्किएर विजुलीको लाइनमा समाइसकेपछि नियन्त्रणभन्दा बाहिर गइसकेको थियो । दन्किएपछि अर्को कोठामा सुतेका उनकी श्रीमती पार्वती, दुई छोरा, एक बुहारी र एक छोरीले भागेर ज्यान जोगाउन सफल भए ।

तर, गोबर्धनले भने आफूलाई बचाउन सकेनन् । उनीसँगै भुइँतलामा बाँधिएका एउटा माउ गाई, दुईवटा बाछा र तीनवटा बाख्रासहित हाँस, परेवासमेत जलेर खरानी भए । ‘शारीरिक रुपमा स्वस्थ भएको भए भाग्न सक्थे होलान्’, कचनकवल १ का वडाध्यक्ष लक्ष्मीनारायण यादवले भने, ‘जीउ नचल्दा आगोबाट उम्किन सकेनन् ।’ उनले सो घटना अत्यन्त दुखद भएको बताए ।

आगलागीबाट गोबर्धनको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । घरभित्र भएका पाँचवटा साइकल, करिव ३० मन धान, १५ मन चामल, लत्ताकपडा, अन्य सरसामान सबै जलेर नष्ट हुँदा करिव ५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।त्यसैगरी उनका छोरा नरेश राजवंशीको घर र किरण राजवंशीको भान्सा घर पनि जलेर नष्ट भएको छ ।

राति १ः२० बजे खबर प्राप्त हुनासाथ प्रहरी चौकी घेराबारीबाट गएको टोली, भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकल र स्थानीयवासी समेतको सहयोगमा राति १ः५५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

आगलागीबाट अभिभावक गुमाउनुका साथै राजवंशी परिवार पूर्णरुपमा विस्थापित भएको छ । उनीहरुलाई नेपाल रेडक्रस सोसाइटीले त्रिपाल ,भाडाकुडालगायतका सामान उपलब्ध गराएको छ । त्यस्तै जिल्ला विपद् व्यवस्थापन समितिले २१ हजार नगद सहयोग गरेको वडाध्यक्ष यादवले जानकारी दिए ।