इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेसँगै इलामका भक्त केसी र उर्मिला तामाङले भूमिसम्बन्धी समस्या आयोगको पद गुमाएका छन्।

चैत ९ गते बसेको मन्त्री परिषदको बैठकले देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा भूमिसम्बन्धी समस्या आयोग गठन गरेसँगै जिल्लाको समस्या समाधानका लागि गठन गरिने समितिमा इलामबाट अध्यक्षको लागि केसी र सदस्यको लागि तामाङसँगै विज्ञ सदस्यको रुपमा प्रकाश अधिकारीको नाम पठाइएको थियो।

तर, केसी र तामाङ प्रधानमन्त्री ओली समूह छाडेर प्रचण्ड-माधव समूहमा गएपछि उनीहरूको पद बाटोबाट परिर्वतन भयो। इलामका अध्यक्षको जिम्मा चुलाचुलीका ओमनारायण खनाल र सदस्यको जिम्मा माङसेबुङका हेमन्त राईले पाएका छन्।

भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश, २०७६ अनुसार जिल्लामा एकजना अध्यक्ष र ६ सदस्य रहेको समिति गठन हुनेछ । आयोगको सिफारिसमा सरकारले जिल्ला समितिमा संयोजक र दुई सदस्य मनोनयन गरेको हो।

बाँकी तीन सदस्य जिल्ला भूमिसुधार, नापी र वन कार्यालयका प्रमुख तथा र सदस्यसचिव भने जिल्ला समन्वय समितिका सचिव रहने व्यवस्था गठन आदेशमा गरिएको छ ।

जिल्ला अध्यक्षले सहसचिव र सदस्यले शाखा अधिकृत सरहको तलब सुविधा पाउनेछन् । जिल्ला अध्यक्षलाई गाडी र इन्धनलगायत सुविधासमेत दिइनेछ।

केन्द्रीय आयोगले ४ सय १ स्थानीय तहसँग सम्झौता गरी काम अगाडि बढाएको छ। आयोगलाई देशभर जग्गा खोजेर भूमिहीनलाई उपलब्ध गराउन ३ वर्षको समय दिएको छ। थाहा खबरबाट