ताप्लेजुङ । सिरिजंगा गाउँपालिका-१ सिनामको पञ्चमी छेउमा मंगलबार दिउँसो भएको आगलागीबाट पाँचवटा घर जलेका छन् ।

सिनाम माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र प्रकाश गौतमका अनुसार शान्तिराम गिरी, दिपेन्द्र गिरी, टेकनाथ गिरी र उनका छोरा दिपक गिरी समेतको गरी पाँचवटा घर जलेका हुन् ।

बस्तीको मुनी राखेको खरमा सानो नानीले लाइटर सल्काउँदा आगलागी भएको अनुमान गरिएको सिनाम घर भएका संविधानसभा सदस्य भुपेन्द्र थेवेले जानकारी दिए । ‘लाइटर खेलाउँदै हिँडेको नानीले लगाएको अनुमान गर्यौं,’ थेवेले भने, ‘घर कटेराहरु केही बाँकी नरही एउटा बस्ती पूरै जलेको छ ।’

५० भारी खर राखेको ठाउँबाट सुरु भएको आगो कटेरो हुँदै घरहरुमा सल्किएको थेवेले बताए । क्षतिको विवरण संकलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।