झापा (एजेन्सी) । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खानबाद जिल्लामा भएको झडपमा परेर सरकार समर्थक १६ लडाकु र १० तालिबान लडाकुको ज्यान गएको छ ।

जिल्ला उपप्रमुख क्युट्रातुल्लाह साफीले झडपमा सरकार समर्थक लडाकुका कमाण्डर अब्दुल हाकिमसहित १६ जनाको ज्यान गएको जानकारी दिएका हुन् । तालिबान विद्रोहीतर्फ १० जना मारिएका समाचारमा जनाइएको छ । तालिबान लडाकु पाँचसहित नौ जना घाइते भएका पनि साफीले बताएका छन्।

सयौं तालिवान लडाकुहरूले बिहान सबेरै खानबाद जिल्लाको टेपा अख्तर इलाकामा सरकार समर्थक लडाकुमाथि आक्रमण गरेका थिए । आक्रमण तीन घण्टासम्म जारी रहेको स्थानीयले जानकारी दिएका छन् । कुन्दुज प्रान्तीय परिषदका प्रमुख मोहम्मद युसुफले यस झडपमा सरकार समर्थक १६ लडाकुको ज्यान गएको पुष्टि गरेका छन् ।

तालिबान लडाकु समूहले भने यस झडप र हताहतको कुनै टिप्पणी गरेका छैनन् ।