झापा । अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा शुक्रबार क्यान्सरसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

२१औँ विश्व क्यान्सर दिवसको सन्दर्भमा नगर कक्षमा आयोजित कार्यक्रमका वक्ताहरुले क्यान्सर रोग नसर्ने भए पनि दैनिकजसो क्यान्सरका बिरामी बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे । क्यान्सर रोगीको संख्या बढ्दै जानुमा खानपान, बानी व्यवहार र वातावरण नै भएको निश्कर्ष चिकित्सकहरुले सुनाए ।

कार्यक्रममा बोल्दै शनिश्चरे अस्पतालका डा. रविन्द्र ओलीले क्यान्सर रोग उपचार गरे सम्भव हुने भए पनि नियमित व्यायाम, पसिना निस्कने किसिमका परिश्रम, धुमपान, मदिरा सेवन त्याग्ने र खानपानमा सुधार ल्याउन सकेको खण्डमा क्यान्सर रोग नलाग्ने बताए ।

शरीरका विभिन्न अंगमा क्यान्सर हुने भए पनि पछिल्लो वर्षको तथ्यांकमा महिलाहरु बढी पीडित बन्दै गएको उनले सुनाए । महिलामा पाठेघर क्यान्सर र स्तन क्यान्सर अधिक हुने गरेको भन्दै आफ्नो बानी, व्यवहारमा परिवर्तन ल्याउन उनको सुझाव छ ।

कार्यक्रममा बोल्दै नगरपालिकाका मेयर हरिकुमार रानाले बानी, वातावरण र विषादीका कारण क्यान्सर रोग हुने तथ्य सार्वजनिक भएकाले आफ्नो आचरणमा सुधार ल्याउन सक्नुपर्नेमा जोड दिए । बानी र विषादी मानव सिर्जित विपत्ति हुने तथा वातावरण प्राकृतिक विपत्ति हुने भएकाले बेलैमा सजग बन्नुपर्ने उनको भनाइ थियो ।

स्वास्थ्य कार्यालय झापाका प्रमुख इश्वरी पौडेलले पोलेर खाइने मासुबाट ४० प्रतिशत क्यान्सर रोग हुने भन्दै धुमपान र मद्यपानबाट पनि त्यति नै रोग लाग्ने गरेको सुनाए ।

जनप्रतिनिधि, सरोकारवाला तथा स्थानीयको सहभागिता रहेको कार्यक्रममा ध्यानबहादुर भारती, भोला परियार, डम्बर घिमिरेलगायतले आफ्ना जिज्ञासा राखेका थिए ।

कार्यक्रममा नियमित शारीरिक व्यायाम गर्ने, धुमपान, मद्यपान, सूर्तीजन्य पदार्थको सेवन नगर्ने, हरियो सागसब्जी, फलफूल आफैँ उत्पादन गरेर खाने तथा रासायनिक र विषादीको प्रयोग नगर्ने भन्दै मेयर रानासँगै सहभागीले प्रतिबद्धता जनाएका छन् ।

स्वास्थ्य शाखा संयोजक मुकुन्द बस्नेतले सहजीकरण गर्दै क्यान्सरसम्बन्धी कुनै पनि लक्षण देखिए वा शंका लागेको खण्डमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरे ।

पछिल्लो तथ्यांकअनुसार बितेको ७ महिनाभित्र अर्जुनधाराका १७ जनाले क्यान्सर रोगको उपचारका लागि स्वास्थ्य शाखाबाट सिफारिस लिएको उल्लेख छ । बितेको साउनदेखि माघ महिनासम्म १७ जनाले सरकारबाट प्राप्त हुने एक लाखबराबरको उपचार सुविधाका लागि सिफारिस लिएका हुन् ।

त्यस्तै, गतवर्ष अर्जुनधाराबाट १४ जनाले सिफारिस लिएको स्वास्थ्य शाखाकी सहसंयोजक दुर्गा चापागाईले बताइन् । यस वर्ष झापाबाट एक हजार ३२१ जनाले उपचारका लागि सिफारिस लिएको तथ्यांक छ ।