विराटनगर । प्रदेश नम्बर १ को प्रदेशसभा बैठक नेकपा ओली समूहले अवरुद्ध गरेको छ ।

आइतबार दिउँसो बसेको प्रदेशसभा बैठक ओली समूहका सांसदहरुले अवरुद्ध गरेका हुन् । उनीहरुले बैठक अवरुद्ध गरेपछि अविश्वासको प्रस्ताव दर्ता हुन सकेन । अपराह्न सुरु भएको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले बैठक प्रारम्भ भएको घोषणा गर्न नपाउँदै मुख्यमन्त्री शेरधन राई पक्षधरले उठेर बैठक अवरुद्ध पारेका हुन् ।

सभामुख भण्डारीले पटक-पटक बस्न आग्रह गर्दा पनि सांसदहरु नमानेपछि बैठक स्थगित भएको घोषणा गरेका छन् । आजको बैठकमा मुख्यमन्त्री राईविरुद्ध संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव पेस हुने कार्यसूची थियो ।

ओली समूहका सांसदहरुले विरोध जनाएलगत्तै सभामुख प्रदीप भण्डारीले फागुन ९ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका थिए ।

ओली पक्षका सांसदहरुले संसदीय दलका नेताले निलम्बन गरेका १६ जना सांसदहरुलाई प्रवेश गर्न दिएको भन्दै बैठक अवरुद्ध गरेका हुन् ।