झापा (एजेन्सी) । भारतको उत्तराखण्डको चमोली जिल्लामा हिमताल फुटेर आएको बाढीले बाँध भत्काएपछि अहिलेसम्म नौ जनाको ज्यान गएको र दर्जनौँ बेपत्ता भएको त्यहाँको प्रहरीले पुष्टि गरेको छ ।

हिमताल फुटेपछि आएको बाढीले बाँध भत्काएपछि तल्लो तटीय क्षेत्रमा ठूलो बाढी पसेको अधिकारीहरूले बताएका छन् । कैयौँ गाउँबाट मानिसहरूलाई सुरक्षित स्थलमा पठाइएको छ । अधिकारीहरूले झण्डै डेढ सय मानिसहरू हराइरहेको हुन सक्ने बताएका छन् । हराइरहेकामध्ये अधिकांश त्यहाँको जलविद्युत् आयोजना निर्माणमा संलग्न मजदुरहरू रहेको बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अवस्थाको अनुगमन गरिरहेको बताउनुभएको छ । उहाँले ट्वीटरमा लेख्नुभएको छ, ‘सबैको कुशलताका लागि यति बेला सम्पूर्ण देशले प्रार्थना गरिरहेको छ ।’ भारतीय वायु सेनालाई उद्धार कार्यका लागि तयार राखिएको सरकारले जनाएको छ ।

इन्डो–तिब्बती सीमा प्रहरीले चमोलीबाट दिएको जानकारीअनुसार हिमताल फुटेपछि आएको बाढीका कारण तपोवन क्षेत्रमा फसेका कम्तीमा १६ जनालाई प्रहरीले उद्धार गरेको छ ।

हिमताल फुटेपछि आएको बाढीका कारण दुई वटा जलविद्युत् परियोजना र बाँधमा क्षति पुगेको बताइएको छ । अहिले बन्दै गरेको ऋषिगङ्गा जलविद्युत् परियोजनामा सबैभन्दा बढी क्षति पुगेको र सञ्चालनमा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनामा पनि क्षति पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तराखण्का मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले पत्रकारहरूसँग कुरा गर्दै यस घटनामा अहिलेसम्म एक सय २५ जना बेपत्ता भएको बताउनुभयो । उहाँले यस घटनामा ज्यान गुमाउनेका परिवारलाई चार-चार लाख भारू क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ ।

यसका साथै मुख्यमन्त्री रावतले हिमपहिरोमा एक सय ८० भेडा-ब्राखा पनि बगेको र जहाँ हिमताल फुट्यो त्यहाँको रैणी गाउँमा अहिलेसम्म पाँच जनाको ज्यान गएको अपुष्ट जानकारी दिनुभयो । उहाँले बाँधमा काम गर्ने स्थानीयहरू आइतवार बिदामा रहने भएकाले यस घटनामा स्थानीयहरूको कम हताहत भएको सम्भावना रहेको बताउनुभयो ।

मुख्यमन्त्री रावतले भन्नुभयो, ‘अहिलेसम्म आवश्यक पर्ने स्रोत साधन उपलब्ध छ । हेलिकप्टर पर्याप्त मात्रामा छ । आवश्यक पर्दा प्रयोग गरिनेछ । उद्धारकर्ता पनि तयारी अवस्थामा छन् ।’