अर्जुनधारा । झापाली समाज कतारले झापा अर्जुनधारा २ का एक क्यान्सरपीडित बालकलाई उपचारमा सहयोग पु¥याउन आर्थिक सहयोग गरेको छ ।

समाजले सोमबार क्यान्सरपीडित ९ बर्षीय बालक प्रशान्त सुनारलाई एक लाख १०५ रुपैयाँ आर्थिक सहयोग गरेको हो । अर्जुनधारा २ नम्बरका वडाध्यक्ष रघुनाथ खनाल, झापाली समाज कतारका संस्थापक अध्यक्ष तथा प्रवासी समाज झापाका अध्यक्ष गणेश काफ्ले, कार्यसमिति सदस्य सुदर्शन रोक्का, समाजका सहयोगी सुजन खड्का लगायतले संयुक्तरुपमा उक्त रकम पीडित बालकका बुबा बिष्णु सुनार र आमा सन्तोषी सुनारलाई प्रदान गरेका हुन् ।

आर्थिक अवस्था नाजुक भएका पीडित बालकलाई उपचारमा केही सहज होस् भन्ने हेतुले समाजले सहयोग गरेको समाजका कार्यसमिति सदस्य सुदर्शन रोक्काले बताए । बोनम्यारो क्यान्सरबाट दुई बर्ष अघिदेखि पीडित बनेका विपन्न सुनारका बारेमा अर्जुनधारा सेवा समाजका अध्यक्ष गणेश दुलालले समाजलाई जानकारी गराएका थिए । समाजले समाजिक उत्तरदायित्व तथा मानवीय भावनाले सुनारलाई सहयोग गरेको जनाएको छ ।

वडाध्यक्ष खनालको प्रमुख आतिथ्यतामा भएको सहयोग रकम हस्तान्तरण कार्यक्रमको सञ्चालन सदस्य रोक्काले गरेका थिए । कार्यक्रममा विभिन्न समाजिक, शैक्षिक तथा राजनीतिक क्षेत्रका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।