एजेन्सी । हाइटीका राष्ट्रपति जोभेनल मोइसले सोमबार आफूलाई हत्या गरी सरकार अपदस्थ गर्ने विद्रोह प्रयास असफल भएको जानकारी दिएका छन् ।

उनको कार्यकाल सम्बन्धमा विवाद चर्किरहेका बेला यो षड्यन्त्रको प्रयास भएको हो ।यस सम्बन्धमा एकजना वरिष्ठ न्यायाधीश र प्रहरी अधिकारीलगायत कम्तिमा २३ जनालाई पक्राउ गरिएको सरकारी सूत्रले जनाएको छ ।

राष्ट्रपति मोइसेको कार्यकाल सन् २०२२ को फेब्रुअरीमा समाप्त हुँदै छ । तर, विपक्षी राजनीतिक समूहले भने उनको कार्यकाल आइतबार नै समाप्त भइसकेको दाबी गरिरहेका छन् । उनले सत्ता छाड्न अस्वीकार गरेको विरोधमा राजधानी पोर्ट ओ प्रिन्स र अन्य शहरहरूमा प्रदर्शनकारीहरूले सडक तताएका छन् ।

प्रहरी र प्रदर्शनकारीबीच व्यापक भिडन्त भएको छ भने प्रहरीले प्रदर्शनकारीहरूलाई तितर–वितर पार्न अश्रुग्यास प्रहार गरेका छन् । एटिन्ने जिन ड्यानियल नामक एकजना प्रदर्शनकारीले भनेका छन्, ‘हामी जोभेनल माइसेले संविधान उल्लंघन गरेको स्विकार्न सक्दैनौं । संविधानको सम्मान होस् भन्ने हाम्रो माग हो ।’

अर्का प्रदर्शनकारी जिन रेनाल्डले भनेका छन्, ‘सरकारले विदहमा संलग्न व्यक्तिहरूको अपहरण गरेका छन् । म तिनीहरूको यथाशिघ्र रिहा होस् भन्ने चाहन्छुं ।’ सुरक्षा अधिकारीहरूले सत्ता पल्टाउन खोज्ने विद्रोहीहरूका साथबाट एसल्ट राइफल, मेसिन गन र धारिला हतियारहरूलगायत नगद पनि फेला परेको बताएका छन् ।

राष्ट्रपति मोइसेले आफ्नो ज्यानै लिने योजना असफल बनाइदिएकोमा राष्ट्रपति भवनका सुरक्षा प्रमुखलाई धन्यवाद दिएका छन् । मोइसे सन् २०१६ को विवादास्पद आमनिर्वाचनबाट सत्तामा पुगेको विपक्षीहरूको दावी छ । सन् २०१९ मा विधान सभा भंग गरिएपछि जारी भएको विशेष आदेशाज्ञामार्फत मोइसेले दोश्रो कार्यकाल चलाइरहेका हुन् ।

मोइसे कुनै पनि हालतमा सत्ता छाड्ने पक्षमा रहेका छन् । ल्याटिन अमेरिकाको सबैभन्दा गरिब मुलुक हाइटीमा ६० प्रतिशतभन्दा बढि जनता गरिबीको निरपेक्ष रेखामुनि रहेका छन् ।