प्रकाश नेपाल,
इलाम । नेपालतर्फबाट सिधा सडक नहुनु र भारतीय बाटोबाट उपभोग्य सामाग्री ल्याउन भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गर्ने गरेकाले यहाँका बासिन्दाले वर्षेनी समस्या झेल्दै आएका छन् । हिउँदका केही महिना नेपालतर्फबाट सवारी साधन सञ्चालनमा आउने गरे पनि अन्य समय सडक सञ्जालबाट सीमावर्ती क्षेत्रका बासिन्दा टाढै रहनु पर्ने बाध्यता छ ।

भारतको दार्जिलिङतर्फबाट मानेभञ्ज्याङ हुँदै पाँचथर सीमावर्ती फालुुटसम्म नै सडक भए पनि भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपालतर्फका बासिन्दालाई दैनिक उपभोग्यलगायत निर्माण सामाग्री ल्याउन रोक लगाउने गरेका कारण यस क्षेत्रमा समस्या बढ्दै गएको स्थानीयहरूको गुनासो छ ।

‘भारतले हामीलाई त्यहाँबाट केही पनि सामग्री ल्याउन दिँदैन,’ स्थानीय सोनाम लामाले भन्नुभयो, ‘नेपालतर्फको बाटो वर्षको मुस्किलले तीन महिना चल्छ, अनि कसरी चल्ने हामी ?’ अर्का स्थानीय कुमार बस्नेत सामान्य स्वास्थ्य उपचार पनि यहाँ नपाइने बताउँदै स्वास्थ र यातायातको सुविधाको व्यवस्था गर्नुपर्ने बताउँछन् ।

सीमावर्ती मेघमा, तुम्लिङ, जौबारी, कैयाकट्टा, कालपोखरी, सन्दकपुरलगायत स्थानमा नेपालतर्फबाट बाह्रै महिना चल्ने सडक नहुँदा वर्षौदेखि स्थानीयले सास्ती खेप्नु परे पनि सडक पु¥याउन कसैले पहल गरेको छैन ।

सन्दकपुर र माइजोगमाई गाउँपालिकाबाट बस्तीपिच्छे सडक खुले पनि स्तरोन्नत्ति हुन सकेको छैन । पर्यटकीय सम्भावनालाई सदुपयोग गर्दै स्थानीयलाई राहत पुग्ने गरी सडक निर्माणलाई प्राथमिकतामा राखेको माइजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राई बताउनुहुन्छ ।

‘हामीले मेघमा, तुम्लिङ, र जौबारीको बाटोलाई बाह्रै महिना चल्ने बाटो बनाउन लागिपरेका छौं,’ अध्यक्ष राईले भन्नुभयो, ‘पर्यटकका लागि पनि होटलहरूको व्यवस्थापनमा पनि जोड दिने हाम्रो लक्ष्य छ ।’ साथै उहाँले स्थानीय सरकार आउनुअघि यी गाउँहरू अन्यन्तै विकट रहेको बताउनुभयो ।

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) राखिने क्रम बढेपछि यस क्षेत्रमा सडकको आवश्यकता झनै टड्कारो देखिएको छ । सडकको सुविधा नहुँदा दैनिक मानिसहरू ओहोरदोहोर गर्नसमेत समस्या हुँदै आएको मात्र छैन, कामसमेत ढिला हुने गरेको छ ।

सगरमाथा, कञ्चनजंघा, कुम्भकर्णलगायत नेपाल, भारत र भुटानका थुप्रै हिमाललाई देख्न सकिने पर्यटकीय महत्त्वको क्षेत्रको समग्र विकासका लागि दिगो र योजनाबद्ध विकासको आवश्यकता देखिन्छ । इमेज खबरबाट