काठमाण्डौ । आज २६ औं जनयुद्ध दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।

२०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा तत्कालीन माओवादीहरुले जनयुद्ध दिवस मनाउँदै आएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले आज जनयुद्ध दिवस भव्यरुपमा मनाउने निर्णय गरेको छ ।

सहिद स्मृति तथा सम्मान कार्यक्रमको ब्यानरमा दिवस भव्यरुपमा मनाउन सबै तहमा आग्रह गरिएको नेकपाको प्रचण्ड-नेपाल समूहले आग्रह गरेको छ । बिहान ९ बजे पार्टी कार्यालय पेरिसडाँडामा सहिदहरुप्रति सम्मान कार्यक्रम राखिएको नेकपाका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

नयाँ जनवादी क्रान्तिको लक्ष्यसहित बन्दुक उठाएको माओवादीले २०६३ मंसिर ५ गते हतियार बिसाएको थियो । रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकी तथा सरकारी बैंकमा एकसाथ आक्रमण गरी सशस्त्र युद्ध सुरु भएको थियो । १० वर्षसम्म चलेको युद्धमा राज्य र विद्रोही दुवै पक्षबाट १३ हजारभन्दा धेरै व्यक्ति मारिएका थिए ।

हजारौँ व्यक्ति घाइते र अङ्गभङ्ग भएका थिए । विस्तृत शान्ति सम्झौतासँगै शान्तिपूर्ण राजनीतिमा आएको झण्डै १५ वर्ष बितिसक्दा पनि नेताहरुले गरेका बाचा पूरा नगरेको भन्दै आमनागरिक र कार्यकर्ता निराश बनेका छन् ।