इँटाभट्टा । नेपालकै प्रथम शहीद क्या लखन थापा मगरको १४४औं स्मृति दिवसको सन्दर्भ पारेर आइतबार झापामा अन्तरक्रियासहित साँस्कृतिक कार्यक्रम गरिएको छ ।

नेपाल मगर संघका पूर्व जिल्ला अध्यक्ष शिवशंकर थापा मगरको प्रमुख आतिथ्यतामा मेचीनगर-८ स्थित पट्टन प्राणी कल्याण बौद्ध बिहार (गुम्बा) मा कार्यक्रम गरिएको हो । अन्तरक्रिया सुरु हुनुअघि शहीद थापाको तस्वीरमा माल्यार्पण गर्दै शहिदलाई सम्झिँदै मौन धारण गरिएको थियो ।

सो अवसरमा प्रमुख अतिथि थापा मगर, विशिष्ट अतिथि संघका केन्द्रीय उपाध्यक्ष तेजबहादुर तारामी मगर, संघका पूर्व जिल्ला उपाध्यक्ष सुष्मा राना मगर, नेपाल आदिवासी जनजाति महासंघ मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ, बौद्ध सेवा समाजका जिल्ला अध्यक्ष चन्द्रबहादुर मगर, प्रहरी नायव उपरीक्षक सुनिल दाहाललगायतले बोलेका थिए ।

संघका जिल्ला सचिव बविता लुंगेली मगरले कार्यपत्र प्रस्तुत गरेको सो कार्यक्रमको औचित्यबारे संघका जिल्ला उपाध्यक्ष दलबहादुर पुलामी मगरले प्रकाश पारेका थिए । त्यसक्रममा हिमशिखर टेलिभिजनले यसअघि आयोजना गरेको नृत्य प्रतियोगिताका विजेता लिशारा थापा मगरले झ्याउरे भाका तथा मुना राना मगर र रिना राना मगरले कौरा गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् ।

संघका जिल्ला अध्यक्ष जगतबहादुर राना मगरको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत नगर अध्यक्ष विकास थापा मगर र सञ्चालन संघका जिल्ला सचिव बविता लुंगेली मगरले गरेकी थिइन् । नेपाल मगर संघ जिल्ला समन्वय समितिले आयोजना गरेको उक्त कार्यक्रमको व्यवस्थापन तथा संयोजन संघ मेचीनगर समन्वय समितिले गरेको थियो ।

२०७२ असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले स्व. लखन थापालाई नेपालको प्रथम शहीद घोषणा गरेको थियो । तर, मगर संघ केन्द्रीय समिति भने शहीद थापालाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्ने, उनको स्मृति दिवसका दिन फागुन २ गते सार्वजनिक बिदा दिइनुपर्ने, उनको योगदान र जीवनीलाई पाठ्यक्रममा समावेश गरिनुपर्नेलगायत माग राखी आन्दोलनरत् छ ।

विस १८९१ मा गोरखाको साविक बुङ्कोट गाविस वडा नं ४ काहुँले र हालको शहिद लखन गाउँपालिका ७ मा जन्मिएका थापा देश र जनताको मुक्तिका लागि संघर्ष गर्ने योद्धा थिए । विस १९११ मा नेपाली सेनामा भर्ना भएका थापा १९१४ मा भारतीय सिपाही विद्रोहमा सहभागी बन्न पुगेका थिए ।

तर, त्यसबेला जंगबहादुर राणाबाट नेपाली जनतामाथि भएको अन्याय, अत्याचार र ज्यादतीका विरुद्ध सेनाको जागिर छोडेर उनी निरङ्कुशताको विरोध गर्दै नेपाली जनतालाई एकत्रित र संगठित गर्ने अभियानमा लागेका थिए । नेपाली जनताको मुक्ति र स्वतन्त्रताका लागि आन्दोलन गर्ने क्रममा योद्धा थापाले १९३३ फागुन २ गते सहादत प्राप्त गरेका थिए । नेपालको इतिहासमा राणा शासनविरुद्ध उठेको त्यो नै पहिलो विद्रोह थियो ।