झापा । झापामा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका १३ धाइजन बस्ने ३८ वर्षीय अनन्त आचार्य रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो । आचार्य ग्लोबल आइएमई बैङ्क फिक्कल शाखाका प्रमुख हुन् ।

दुर्घटनामा परी निधारमा गम्भीर चोट लागेका आचार्यको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

मेचीनगर १३ चारआलीस्थित पूर्व-पश्चिम राजमार्गमा शुक्रवार बेलुका पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ११ प ४४७८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ११ प ११३१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा परी मे ११ प ४४७८ मोटरसाइकलको पछाडि सवार भद्रपुर १० बस्ने २६ वर्षीय विकाश बुढाथोकी र मे ११ प ११३१ नम्बरका मोटरसाइकल चालक अर्जुनधारा–१० बस्ने १८ वर्षीय मनिष परियार गम्भीर घाइते भएका छन् । उनीहरूको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।