ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा यसवर्ष पहिलो पटक हिमपात भएको छ । हिमपात हुँदा स्थानीयको जनजीवन मात्र प्रभावित भएको छैन, पर्यटकीय र धार्मिक गन्तव्यको रूपमा रहेको पाथिभरा क्षेत्रसमेत प्रभावित भएको छ ।

पाथिभराको दर्शन गर्न पुगेका दर्शनार्थीहरूसमेत सेताम्मे हिउँ पर्दा कठ्याङ्ग्रीदो जाडोमा परे पनि हिउँ खेल्न पाउँदा भने मक्ख देखिन्छन् । धेरैजसो दर्शनार्थीहरू हिउँ परेको दृश्य क्यामरामा कैद गर्न तल्लीन देखिन्छन् । हिउँले यहाँका बाटाघाटा सेताम्मे भएका छन् भने घर र मठमन्दिरसमेत हिउँमय देखिन्छ । मन्दिर पुग्ने सिँढी समेत बाक्लो हिउँले ढाके पनि आउनेजानेको दोहोरीलता देख्न सकिन्छ ।

लामो समयपछि हिउँ पर्दा चिसो बढे पनि डाँडाकाँडा र हिमाल हिउँले ढाकिएको दृश्यले सबैलाई सबैलाई मन्त्रमुग्ध बनाए झैँ देखिन्छ । हिउँ परेका कारण हिड्न कठिन हुने वृद्धवृद्धाहरूलाई भरियाले बोकेर दर्शन गराइरहेका छन् भने हिड्नेहरूसमेत लौराको सहायताले मन्दिरसम्म पुग्ने गरेका छन् । ढिलै भए पनि हिउँ खेल्न पाउँदा दर्शनर्थीसमेत मक्ख देखिएका छन् ।

यस वर्ष ओलाङचुङगोला, याङ्मा, फले, घुन्सा, पाथिभरा क्षेत्र र सुकेटारसम्म हिउँ परेको छ । हिमपातका कारण यहाँका बोटबिरुवा रुखका पातहरू सेताम्मे देखिएका छन् । तर, हिउँ हेर्दै रमाइलो गर्दै हिड्नुको आनन्द भने बेग्लै छ । मन्दिर पुगेपछि देखिने हिउँमय दृश्यले सबैलाई मन्त्रमुग्ध बनाए झैँ देखिन्छ ।

सेताम्मे हिउँपरेका कारण यहाँका होटलहरू पनि हिउँले छपक्क देखिन्छन् । हिउँ परेका कारण यहाँको मौसम खुल्दा डाँडाकाँडा र हिमालहरू टल्किँदा आँखैमा ठोक्किन आएको देखिन्छ । झापाको चारआली हुँदै स्थल मार्गबाट पाथिभरा हुँयकिनेहरूको बाटोमा दोहोरीलता देख्न सकिन्छ ।

नागबेली मोटरबाटो इलाम, पाँचथर हुँदै बाटोमा देखिने मुख्य बजार देउराली, राँके, गोपिटार लगायतका बजारले पाथिभरा पुग्न हौस्याइरहेझैँ भान गराउँछ । हिउँ पर्दा तिर्थालु मात्र हैन, स्थानीय पनि हिउँ खेल्न जान तँछाडमछाड गरिरहेका छन् । इमेज खबरबाट