बिर्तामोड । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा साहित्यकार, शिक्षा सेवी तथा पत्रकारलाई एक कार्यक्रमका बीच पुरस्कृत गरिएको छ ।

कोषकै सभाहलमा आयोजित कार्यक्रममा २०७६ सालमा प्रकाशित कृतिमध्ये वर्षोत्कृष्ठ अस्वत्थामा कृतिका लेखक युवा साहित्यकार कुमार भट्टराई, विष्णु चन्द्र पद्मा दीर्घ साहित्य सेवाबाट साहित्य तथा शिक्षा सेवी मोहन भण्डारी र धनमाया सक्रिय महिला वर्षोत्कृष्ट पत्रकारिताबाट अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका झापा सम्वाददाता राधा खनाललाई पुरस्कृत गरिएको थियो ।

पुरस्कृत तीनै जनालाई कार्यक्रमका प्रमुख आतिथि कोमलप्रसाद पोखरेल, संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाई, प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई, केशवराज खनाल लगायतले दोसल्ला, सम्मानपत्रसहित नगद राशीद्वारा पुरस्कृत तथा सम्मान गरिएको थियो ।

पुरस्कृत तीनवटै पुरस्कारको राशी जनही २१ हजार १११ रुपैयाँ रहेको बताइएको छ । सम्मानित स्रष्टाको व्यक्तित्वबारे कोषका उपाध्यक्ष विष्णुकुमार भट्टराई र रेजिना गौतमले प्रकाश पार्नुभएको थियो ।

कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विष्णुकुमार भट्टराईद्वारा लिखित चिन्तन, मनन र गन्थन, बाँच्ने खेलका हारजित र विनोद खनालद्वारा लिखित ‘तितो–मिठो हास्यब्यङ्ग्य कृति विमोचन गरिएको थियो ।

विष्णुकुमार भट्टराईद्वारा लिखित कृतिमाथि पुण्यप्रसाद खरेल र हरिप्रसाद भट्टराईले समिक्षा गर्नुभएको थियो भने विनोद खनालद्वारा लिखित पुस्तकबारे स्रष्टा आफैंले प्रकाश पार्नुभएको थियो ।