इलाम । इलाम अस्पतालमा चाँडै मिर्गौला रोगीहरुका लागि डाइलासिस सेवा शुरु हुने भएको छ । इलाम जिल्लामा डाइलासिस सेवा नहुँदा मिर्गौला रोगीले बाहिर जिल्लाका अस्पतालबाट सेवा लिन बाध्य थिए ।

रोटरी क्लब धरान र इलाम नगरपालिकाको आर्थिक सहयोगमा अस्पताललाई आइतबार तीन थान डाइलसिस मेशिन हस्तान्तरण गरिएको छ । आवश्यक जनशक्तिलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालिम दिइएपछि इलाम अस्पतालमा सेवा सुरु हुने इलाम अस्पतालका व्यवस्थापन क्षितिज खतिवडाले बताए ।

तीन वटै मेशिनको इन्स्टलेशनको काम पनि सम्पन्न भइसकेको उनले बताए । एक जना एचए र एक जना नर्सिङ स्टाफलाई तालिम दिनका लागि विपीमा नामावलीसमेत पठाइसकिएकाले चाँडै सेवा शुरु हुने उनले बताए ।

इलाम नगरपालिकाको १५ लाख रुपैयाँ र रोटरी क्लब धरानको २८ लाख ७५ हजार गरी ४३ लाख ७५ हजार रुपैयाँ बराबरको मेशिन अस्पताललाई हस्तान्तरण गरिएको रोटरी क्लब धरानको पूर्व उपाध्यक्ष कृष्ण साहले जानकारी दिए ।

डाइलासिस सेवा भने जिल्ला समन्वय समितिको नयाँ भवनबाट दिइने अस्पतालले जनाएको छ । मेसिन हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष गणेश बरालले जिल्लामा अति आवश्यक नयाँ सेवा शुरु भएकाले जिल्ला समन्वय समितिले भवन उपलब्ध गराउनका साथै अन्य सहयोग गर्ने बताए ।

इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले नगरले नगद मात्र नभएर एक जना प्राविधिक कर्मचारी पनि उपलब्ध गराएको जानकारी दिए । चाँडै थप मेशिन ल्याएर सेवालाई अझ प्रभावकारी ढंगले विस्तार गरिने पनि उनले बताए ।

कार्यक्रममा रोटरी क्लब सुनसरीका अध्यक्ष रबिन श्रेष्ठले सबैको सहयोगले इलामलाई मेशिन हस्तान्तरण गर्न संभव भएको बताए । उनले जापानबाट मेशिन ल्याएर हस्तान्तरण चरणसम्ममा धेरै मिहेनत गर्नु परेको अनुभव पनि सुनाए ।