धनकुटा । सहिदभुमि गाउँपालिका धनकुटामा ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रम शुरु भएको छ । प्रदेश नं १ का प्रदेश प्रमुख सोम नाथ अधिकारी प्यासीले एक कार्यक्रमका बीच ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

शिविरको पहिलो दिन सोमबार सहिदभूमि गाउँपालिकाका २२५ जना ज्येष्ठ नागरिकले सेवा लिएका छन् । पूर्वाञ्चल डेन्टल हस्पिटल ईटहरीको प्राविधिक सहयोगमा सञ्चालित शिविर उद्घाटन कार्यक्रममा प्रदेश प्रमुख अधिकारीले प्रदेशको नीति तथा कार्यक्रम अनुसार नै कार्यक्रम सञ्चालन गरिएको स्पष्ट पार्नुभयो ।

त्यस्तै प्रदेश सांसद विनादेवी राईले प्रदेशका हरेक नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै प्रदेश सरकारले स्वास्थ्य सेवालाई थप व्यवस्थित गर्दै लगेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश सांसद निरन राईले प्रदेश १ का सबै स्थानीय तहमा १५ बेडको हस्पिटल निर्माण कार्य अघि बढेको जानकारी दिनुभयो ।

मानव जीवनका लागि दाँत एक महत्त्वपूर्ण अङ्ग भएकोले ज्येष्ठ नागरिकको जीवन यापनमा सहजता प्रदान गर्न, उनीहरूलाई निरोगी बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष मनोज राईले बत्ताउनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष, सदस्य तथा कर्मचारी लगायत सञ्चारकर्मीको उपस्थिति थियो । शिविर ३ दिनसम्म सञ्चालन हुनेछ ।