0 Shares

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा पहिलोपटक कार्डियक डाइबेटिक क्लब गठन भएको छ । याे क्लब प्रदेश १ मै पहिलाेपल्ट गठन भएकाे दाबी गरिएकाे छ ।

नगरमा रहेका उच्च रक्तचाप र मधुमेहका बिरामीलाई लक्षित गरी नगरस्तरीय क्लब गठन गरिएको छ । नगर स्वास्थ्य शाखाको आयोजनामा बुधबार आयोजित कार्डियक डाइबेटीक क्लब उद्घाटन समारोह तथा अभिमुखिकरण कार्यक्रममा क्लबबारे जानकारी दिइएको हो ।

नसर्ने रोगको कारणले गर्दा हुने मृत्यु दरलाई कम गर्ने अवधारणा अन्तर्गत नसर्ने रोगहरुमध्ये उच्च रक्तचाप र मधुमेहका बिरामीहरुलाई लक्षित गरी नगरको सबै वडा र टोलमा पनि क्बल गठन हुने स्वास्थ्य शाखाका संयोजक मुकुन्द बस्नेतले बताए ।

उनका अनुसार नगर प्रमुख हरिकुमार राना क्लबका संयोजक रहेका छन् भने उपप्रमुख कमला खतिवडा आचार्य सहसंयोजक, प्रमुख कार्यकारी अधिकृत, सामाजिक विकास समितिका संयोजक, ११ वटा वडाका अध्यक्षहरु सदस्य र स्वास्थ्य शाखा प्रमुख सदस्य सचिव रहनेगरी क्लब गठन गरिएको हो ।

क्लबका सदस्य सचिव तथा स्वास्थ्य शाखा प्रमुख बस्नेतका अनुसार नगर प्रमुखको सिफारिसमा अन्य तीन जना सदस्य थप गरिनेछ । उनका अनुसार एक साताभित्र वडास्तरीय क्लब र टोलस्तरीय क्लब पनि गठन भइसक्नेछ ।

कार्यक्रम अन्तर्गत क्लब गठन तथा अभिमुखिकरणका लागि दुई लाख ५० हजार रुपैयाँ र औषधि खरिद गर्न १२ लाख ५० हजार रुपैयाँ बजेट स्वीकृत भएको बताइएको छ । सबै वडाको टोल-टोलमा गठन हुने क्लबको लागि हालसम्म अर्जुनधारा-२, ५, ८, ९ र १० नम्बर वडाबाट नामावली प्राप्त भएको संयोजक बस्नेतले बताए । उनी भन्छन्, ‘क्लब सञ्चालनको लागि आवश्यक कार्यविधि तयार भइसकेको हुँदा एक साताभित्र क्लब गठन गर्नेछौं ।’

क्लब सञ्चालनमा आएपछि टोल टोलमा रहेका बिरामीले बिमामार्फतको औषधि आफ्नै वडाको स्वास्थ्य कार्यालयबाट सेवा लिनेछन् । शनिश्चरे अस्पतालबाट लिँदै आएको औषधि वडाबाट उपलब्ध हुने भएको छ तर अन्य पालिकाका सेवाग्राहीले भने यो लाभ लिन सक्ने छैनन् ।

नगर प्रमुख तथा क्लबका संयोजक रानाले नगरबासीप्रति वडाध्यक्षहरुलाई अझ बढी जिम्मेवार बनाउँदै वडामार्फत् सेवा प्रवाह गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । त्यस्तै सुरुवाती कार्यक्रम भएको हुँदा हाललाई सीमित बजेट भए पनि आगामी दिनमा बिरामीहरुको तथ्याङ्कलाई हेरी आवश्यक बजेट विनियोजन गर्ने नगर उपप्रमुख कमला खतिवडा आचार्यले बताइन् ।

कार्यक्रममा वडाध्यक्षद्वय पूष्पप्रसाद प्रसाईं र भैरवबहादुर खड्का, स्वास्थ्यकर्मीहरु दुर्गाप्रसाद भट्टराई र रोशन बस्नेत, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शी, डम्बर घिमिरेलगायतले जिज्ञासा राखेका थिए । नगर प्रमुख रानाको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन शाखाकी सहसंयोजक दुर्गा चापागाईंले गरेकी थिइन् ।

जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुलगायतको सहभागिता रहेको कार्यक्रममा सहजकर्ता संयोजक बस्नेतले क्लबको अवधारणा, उद्धेश्य, सञ्चालन प्रक्रिया, क्लबबाट उपलब्ध हुने औषधि, बजेट व्यवस्थापन, अपेक्षित उपलब्धी, चुनौतीहरुबारे जानकारी गराएका थिए ।