मोरङ । सडक पेटीमा बस्ने सहयोगापेक्षी मानवको उचित बसोबासका लागी भवन निर्माण गर्न विराटनगरका मनकारी परिवारले चार करोड मूल्य बरावरको जग्गा मानव सेवा आश्रमलाई प्रदान गरेका छन् ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको सक्रियतामा विराटनगर ५ का खड्का परिवारले चार करोड मूल्य बराबरको ६ कट्ठा जग्गा आश्रमलाई प्रदान गरेका हुन् ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरी डम्बर सत्सङ्ग सद्गुरु कबिर सेवा आश्रमकी अध्यक्ष सुशीला भट्टराईले मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीलाई विराटनगर ५ मा रहेको जग्गाको कागजपत्र हस्तान्तरण गर्नुभयो ।

स्व डम्बरबहादुर खडकाले आफ्नो मृत्युपछि मानव सेवाको हितमा काम गर्न भने अनुसार खडका परिवारका सदस्यहरूले आश्रमको नाममा रहेको १३ कट्ठा जग्गामध्ये ६ कट्ठा जग्गा प्रदान गरेका हुन् ।

महानगरपालिकाका प्रमुख पराजुलीले मानव सेवा प्रवर्द्धन कार्य गरेकोमा दाता परिवारले पुण्यको काम गरेको भन्दै छोरो छोरीले वृद्ध आमाबुबालाई ज्येष्ठ नागरिकलाई सडकमा छाडने र आश्रममा पठाउने कार्य अब बन्द हुनुपर्नेमा जोड दिनुभयो ।

मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले मानवीय कार्यको लागि जग्गा उपलब्ध गराएर समाजमा प्रेरणा प्रदान गरेको बताउनुभयो ।

दाता संस्थाकी अध्यक्ष भट्टराई र जमूना खड्का तथा गुराँस पुस्तकालयका अध्यक्ष दीपक चापागाईँ लगायतले दुःख र पीडामा सहयोग गर्न पाउँदा खुसी लागेको लागेको चर्चा गर्दै आगामी दिनमा थप सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कबिर आश्रमको बाँकी रहेको सात कट्ठा जग्गामा मानव सेवा आश्रमले वाटिका लगाउने सोही अवसरमा जानकारी दिइयो । विराटनगरस्थित तीन आश्रमका हाल २४६ जना सहयोगापेक्षी बालबालिका तथा वृद्धवुद्धाहरु बस्दै आएका छन् ।