झापा । प्रधानमन्त्री केपी ओलीले विर्तामोडको पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले फागुन १८ गते करिब ७ घण्टा बिएन्डसी हस्पिटलसँगै रहेको क्यान्सर हस्पिटल परिसरमा समय बिताउने छन् । ओलीले अधिकांश समय क्यान्सर हस्पिटल र बीएन्डसीलाई दिनेछन् ।

हस्पिटलका कार्यकारी प्रमुख दुर्गा प्रसाईले आज पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएका हुन् । उद्घाटन समारोहमा प्रसिद्ध नायिका मनिषा कोइराला, प्रसिद्ध अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य लगायतको गरिमामय उपस्थिति रहने प्रसाईले बताए ।

भारतकी प्रसिद्ध नायिका सोनाले बान्द्रालाई समेत निम्तो पठाइएको उनले बताएका छन् । यस्तैगरी, कार्यक्रममा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, मन्त्रीहरु रामबहादुर थापा बादल, कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल र पूर्व मन्त्री महेश बस्नेतको उपस्थिति रहने बताइएको छ ।

मंगलवार उद्घाटनका दिन विहान १० बजेको यति एयरलायन्समार्फत ओली काठमाडौंबाट भद्रपुर विमानस्थल आउनेछन् । कार्यक्रम सकेर अपरान्ह साढे ५ बजे उनी काठमाडौं फर्कने हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

एक वर्षअघि निर्माण सम्पन्न भइ सञ्चालनमा आएको क्यान्सर हस्पिटलको औपचारिकरुपमा उद्घाटन भने भएको थिएन । उद्घाटनका अवसरमा काठमाडौँबाट ठुला मिडियाका सम्पादक र स्वास्थ्य विधामा कलम चलाउने करिब ६० जना पत्रकार आउने गिरीले जानकारी दिए ।

बीएन्डसी हस्पिटलका निर्देशक प्राडा उमेश शर्माले पूर्वाञ्चल क्यान्सर हस्पिटल मुलुककै अब्बल हस्पिटल भएको बताए । उनले क्यान्सरको पूर्ण उपचार हुने भएकाले अब नेपालीहरुले विदेश धाउनु नपर्ने बताए ।

अत्याधुनिक उपकरण र दक्ष जनशक्तिसहितको विश्वस्तरीय उपचार गर्दै आएको पूर्वाञ्चल क्यान्सर हस्पिटलमा हाल १ सय बेड सञ्चालनमा रहेको छ । ३ सय बेडको संरचना निर्माण भइसकेकाले थप सेवा हस्पिटल निकट भविष्यमै सञ्चालनको तयारी गरिएको उनले बताए ।

दिल्लीमा हुने सबै स्वास्थ्य परीक्षण र उपचार सुविधा पूर्वाञ्चल क्यान्सर र बीएन्डसी हस्पिटलमा रहेको भन्दै उनले प्रतिस्पर्धा दिल्लीसँग नभइ सिंगापुरको हस्पिटलसँग रहेको पनि उनले ठोकुवा गरे ।