सुरेन्द्र भण्डारी,
झापा । झापामा नयाँ प्रजातिको फूलखेती सुरु गरिएको छ । औषधीय गुण भएको केमोमेली प्रजातिको फूलखेती अर्जुनधाराका कृषकले सुरु गरेपछि यसक्षेत्रका अन्य कृषकहरु पनि यसतर्फ आकर्षित भएका छन् ।

झापाको अर्जुनधाराका समतल फाँटहरु यतिबेला सेतो फुलले ढकमक्क भएको देखिन्छ । सधै बन्दाकोभी, गोलभेडा र अन्य तरकारी बालीले ढाकिने यी फाँटहरुमा यो वर्षदेखि यसरी सेताम्मे फूलफूल्दा यहाँको सौन्दर्य पनि निखारिएको देखिन्छ ।

झापाको अर्जुनधारामा पहिलो पटक यसरी नयाँ प्रजातिको फूलखेती सुरु गरिएको हो । व्यावहारिक ज्ञान र सिप भए त्यसै बस्नु पर्दैन भन्ने उदाहरण बनेको छ यो अर्जुनधारा ।

औषधीय गुणले भरिपूर्ण मानिएको यो केमोमेली प्रजातिको फूल खेती पहिलो पटक यहाँका कृषक ज्ञानु बरालले सुरु गरेका हुन् । विशेषगरी ग्रीन टी फ्लेवरका रुपमा मात्र नभई बिभिन्न सेन्ट र स्प्रेको रुपमा केमोमेली फूलको प्रयोग गरिँदै आएको छ ।

यो फूल फूल्न सुरु गरेपछि सातामा दुई पटक सम्म टिप्न सकिने र असारको अन्तिम सातासम्म फूल टिप्न सकिने बताइएको छ । निकै बासनादारको रुपमा रहेको यो फूल टिप्दासमेत यसको सुगन्धले सबैलाई यतातिर आकर्षित गरिरहेको हुन्छ ।

यो फूलको नियमित सेवनले आँखा सम्बन्धि सबै प्रकारका रोग निवारणमा मद्दत पुग्ने, क्यान्सर रोगीलाई समेत फाइदा पुग्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, अनिद्रा र शरीर सिथिल हुँदा लाभकारी हुने बिज्ञहरुको भनाई छ ।

शरीरमा भएका हङ्डीलाई मजवुत बनाउने, मधुमेह लगायतका रोगबाट समेत छुट्कारा पाउन यसको सेवन गर्न सकिने बताईएको छ । अर्जुनधारा नगरपालिकाले कृषकका लागि गरेको व्यावसायिक कृषि तालिममा सहभागी भएपछि बरालले परम्परागत काउली खेती छाडेर यो फूलको व्यावसायिक खेती शुरु गरेका हुन् ।

लाभकारी फूलका रुपमा रहेको यसको पहिलो पटक खेती शुरु गरे पनि फूलखेतीबाट प्रशस्त आम्दानी लिन सकिने कृषकहरुको आशा छ । कृषि पेशामा आत्मनिर्भर बनाउन अर्जुनधारा नगरपालिकाले कृषकलाई तालिम प्रदान गरेपछि यहाँका कृषकहरु यस खेतीतर्फ आर्कषित भएका हुन् ।

परीक्षणका रुपमा पहिलो वर्ष यसको खेती गरिए पनि यहाँका कृषक यस खेतीप्रति उत्साहित देखिएका छन् । केमोमेली फूल प्रतिकेजी एक हजार रुपैयाँभन्दा बढीमा बिक्री हुने बताइएको छ ।

थोरै लगानीमा पनि प्रशस्त आम्दानी लिन सकिने कृषि विज्ञको सुझाव पछि कृषकहरुले तरकारी खेतीको सट्टा केमोमेली फूलको खेती शुरु गरेका हुन् । यसको फूल बिक्रीबाट मात्रै एक सिजनमा प्रतिकठ्ठा २० हजार रुपैयाँभन्दा बढी आम्दानी लिन सकिने बताइएको छ ।

त्यसैले पनि यस्ता नयाँखेतीको बारेमा कृषकलाई ज्ञान सिप दिएर अभिप्रेरित गर्ने हो भने यहाँका कृषक आत्मर्निभर बन्न सक्ने थिए । इमेज खबरबाट