झापा । भारी मात्रामा प्रतिबन्धित लागूऔषध अफिमसहित दुई भारतीय महिला पक्राउ परेका छन् ।

आज बिहान मेचीनगर नगरपालिका वडा नं. ६ स्थित न्यु बिशाल होटलबाट २ केजी अफिमसहित उनीहरु पक्राउ परेका हुन् । होटलको कोठा नं. १०५ मा अफिमको कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्युरो कोटेश्वर काठमाण्डौं र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारी पक्राउ गरेको जनाइएको छ ।

पक्राउ पर्नेमा भारतको मणिपुर इम्फालस्थित काङलाटङबी मन्दिर स्थायी ठेगाना भएकी ३० वर्षिया लक्ष्मी क्षेत्री र दार्जीलिङको पाँचखेलगुरी निमाइ स्थायी ठेगाना भएकी ३८ वर्षिया गायत्री देवी क्षेत्री रहेका छन् ।

कालो निलो रंगको प्लाष्टिकको जेब्रा झोलाभित्र दुई वटा पोका बनाई लुकाईछिपाई राखेको अवस्थामा अफिम बरामद गरी दुवैलाई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।