प्रकाश नेपाल,
इलाम । खानेपानीको अभावमा काकाकुल झैँ बनेको इलाम बजारमा अबको चार महिनामा खानेपानी आउने भएको छ । कोभिडका कारण गरिएको लकडाउनले काममा केही ढिला भए पनि अबको चार महिनामा योजना सम्पन्न हुने भएको हो ।

५७ करोड ९५ लाख रुपैयाँको लागतमा सुरु भएको इलामको खानेपानी आयोजनाले सदरमुकाममा खानेपानी वितरण गर्ने भएपछि स्थानीय ढुक्क देखिएका छन् । २३ किलोमिटर लामो पाइपलाइन रहेको आयोजनामा तीन किलोमिटर पाइपलाइन जडान गर्न मात्र बाँकी रहेको आयोजनाले जनाएको छ ।

माइमझुवाको मेवा, गिताङ र राते खोलाबाट पानी ल्याइने आयोजनाको इन्टेक निर्माण र इन्टेक संरक्षणको काम तीव्र गतिमा भइरहेको खानेपानी आयोजनाका इन्जिनियर मेघराज धिमाल बताउनुहुन्छ ।

नगरपालिकामा यसअघि आपूर्ति हुँदै आएको गिताङ खोलाबाट १६, मेवा र रातेखोलाबाट दश–दश लिटर तथा भाँडीखोलाबाट प्रतिसेकेन्ड पाँच लिटर पानी ल्याइने छ । वितरण पाइपलाइन सहित एक सय ५० किलोमिटरमध्ये एक सय २० किलोमिटरको काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।

आयोजना सम्पन्न भइसक्दा प्रतिसेकेन्ड ४१ लिटरका दरले पानी आउने जनाइएको छ । यस आयेजनामा कम्प्युटरबाटै पानीका भल्भहरू कन्ट्रोल गर्न सकिने र नयाँ प्रविधि मार्फत पानी ल्याउन लागिएको इन्जिनियर धिमाल बताउनुहुन्छ ।

आयोजना सम्पन्न भएपछि चार हजार एक सय घरपरिवारलाई नेपाल सरकारको मापदण्ड अनुसारको पिउने पानी उपलब्ध गराइनेछ । एसियाली विकास बैंक (एडिबी)को मुख्य लगानी रहेको आयोजनाको रमण कन्स्ट्रक्सन एन्ड जिआइटिसी जेभीले काम गरिरहेको छ । आयोजनाको कुल लागतको ७० प्रतिशत रकम एडिबीले ब्यहोेर्ने छ ।

सुरुको लागत अनुमान करिब ८३ करोड रुपैयाँको ५ प्रतिशतले हुन आउने ४ करोडभन्दा बढी कम उपभोक्ताले जम्मा गरेका थिए । २५ प्रतिशत रकम इलाम नगरपालिकाले नगर विकास कोषबाट ऋण लिएको छ । नगरपालिकाले कोषबाट १४ करोड ४८ लाख रुपैयाँ ऋण लिएको हो ।

पर्यटकीय नगरी इलाममा बाहिरबाट आउने पर्यटकहरूको बढ्दो चाप र बढ्दो जनसंख्याको कारण सुख्खा याममा खानेपानीको हाहाकार नै हुने गरेको थियो । आयोजना सम्पन्न हुने भएपछि इलामबजारले झेल्दै आएको पानीको हाहाकार सधैँका लागि अन्त्य हुने विश्वास गरिएको छ । इमेज खबरबाट