विर्तामोड । झापाका अग्रज पत्रकार गोविन्दचन्द क्षेत्री र उदीयमान पत्रकार गीता ढुंगाना नेपाल पत्रकार महासंघ झापाद्वारा पुरस्कृत भएका छन् ।
महासंघले नेपालकै पहिलो पत्रकारको रुपमा स्थापना गरेको मोतीराम पत्रकारिता पुरस्कार क्षेत्रीले पाएका हुन् भने झापाको पहिलो पत्रिका केटोको नाममा स्थापित पत्रकारिता पुरस्कार ढुंगानाले पाएकी हुन् ।
क्षेत्री राजधानीको द हिमालय अंग्रेजी दैनिक र सन्दर्भ टाइम्समा कार्यरत छन् भने ढुंगाना दमकबाट प्रशारित हिमशिखर टेलिभिजनमा कार्यरत छन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, महासंघका पूर्व केन्द्रिय अध्यक्ष शिव गाउँले, महासंघका प्रदेश नं १ का अध्यक्ष विक्रम लुइँटेल, महासंघका पूर्व केन्द्रीय महासचिव चन्द्र भण्डारी लगायतको उपस्थितिमा शनिबार विर्तामोडमा एक समारोहबीच दुबै प्रतिभालाई पुरस्कृत गरिएको हो । पुरस्कारको नगदराशी ५१ हजार र १५ हजार रुपैयाँ रहेको छ ।
महासंघका झापा अध्यक्ष तारामणि सापकोटाको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहमा जिल्ला उपाध्यक्ष एकराज गिरीले पुरस्कृत प्रतिभाको परिचय प्रस्तुत गरेका थिए भने अतिथिहरु आचार्य, गाउँले, लुइँटेल र भण्डारीले शुभकामना मन्तब्य व्यक्त गर्दै पत्रकारिता स्वच्छ, मर्यादित र स्तरीय हुनुपर्ने बताएका थिए ।
पुरस्कृत प्रतिभाको तर्फबाट नेपाल पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष समेत रहेका गोविन्दचन्द क्षेत्रीले आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्र, महासंघको प्रदेश कोषाध्यक्ष अम्बिका भण्डारी, महासंघका पूर्व केन्द्रीय सदस्यद्व लिला बराल र मोहन काजी, महासंघ झापाका पूर्व अध्यक्ष केशव आचार्य, पूर्व अध्यक्ष कृष्ण हुमागाई, नारी सञ्चार गृह झापाकी पूर्व अध्यक्ष सावित्रा दाहाल, नेपाल प्रेस युनियन झापाकी अध्यक्ष इन्दु पूर्वेलीलगायतको उपस्थिति रहेको थियो ।