झापा। झापाको कनकाई नगरपालिकामा ‘मेयर आवास कार्यक्रम’अन्तर्गत स्थानीय मुसहर बस्तीका विपन्न परिवारलाई शौचालयसहितको घर हस्तान्तरण गरिएको छ ।

घरबारविहीन विपन्न परिवारलाई जस्ताको छाना भएको घरमा बसोबासको व्यवस्था मिलाउने अभियानमा क्रियाशील कनकाई नगरपालिकाले आफ्नो अभियानको निरन्तरतास्वरुप कनकाई–४ स्थित मुसहर बस्तीका १४ परिवारलाई जस्ताको छाना भएको शौचालयसहितको घर हस्तान्तरण गरेको हो ।

ह्याविट्याट नेपाल र कनकाई नगरपालिकाको आर्थिक सहयोग साथै सहारा नेपालको प्राविधिक सहयोगबाट निर्माण भएका सबै घर निर्माण सम्पन्नपछि ह्याविट्याट नेपालका राष्ट्रिय निर्देशक कृष्टि स्टिक्नी, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल र सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले संयुक्तरूपमा मेयर आवासको चाबी परिवारजनलाई हस्तान्तरण गर्नुभएको हो ।

जन्मँदै घरबारविहीन भएर वर्षौँसम्म कष्टकर जीवन बिताउँदै आएका मुसहर परिवारले शौचालयसहितको घर पाउँदा भगवानको नजर परेको भन्दै खुशी व्यक्त गरेका छन् । परालको झुप्रोमा कष्टकर जीवन बिताउँदै आएका मुसहर बस्तीका हरि ऋषिदेवले जस्ताको छाना भएको तीनकोठे घर पाएपछि आफूहरूले नयाँ जीवन पाएको अनुभव सुनाउनुभयो ।

नगरपालिकाले स्थानीय तहको जिम्मेवारी सम्हालेसँगै विभिन्न दातृ निकाय र सङ्घसंस्थासँगको सहकार्यमा दुई सय १९ वटा घर निर्माण सम्पन्न गरी परिवारजनमा हस्तान्तरण गरिसकेको नगरपालिकाका प्रमुख पोखरेलले बताउनुभयो । कार्यक्रममा उहाँले आगामी आर्थिक वर्षमा नगरपालिकालाई जीर्ण घरमुक्त नगरपालिकाका रूपमा घोषणा गर्ने अभियानमा आफूहरू लागेको बताउनुभयो ।

पोखरेलले यसै आवमा समेत अन्य दातृ निकायसँग साझेदारीमा काम गर्नका लागि रु दुई करोड विनियोजन गरिसकिएको जानकारी दिनुभयो । उहाँले अर्को वर्ष अन्य विकासका बजेट कटौती गरेर भए पनि कनकाईलाई देशकै पहिलो जीर्ण घरवासमुक्त नगर घोषणा गर्ने बताउनुभयो ।

नेपालको पहिलो उज्यालो नगरी घोषणाको तयारीमा रहेको नगरपालिका यसअघि देशकै पहिलो विद्युत चुहावटमुक्त नगर घोषणा भएको छ ।