दोलखा । झोलुङ्गे पुलमा हरेक वर्ष तेल दल्ने किंवदन्ती सुन्दा अहिलेको पुस्तालाई पक्कै आश्चर्य लाग्छ । तर, दोलखाको जामुनेमा रहेको एउटा झोलुङ्गे पुलको इतिहास यस्तै किंवदन्तीसँग सम्बन्धित छ ।

झन्डै २० वर्षअघिसम्म दोलखाको उत्तरी भेगका आधा दर्जन गाविसका मानिसको प्रमुख मार्ग बनेको खारे र बुलुङ (हालको गौरीशङ्कर गाउँपालिका र बिगु गाउँपालिका) जोड्ने यो झोलुङ्गेपुल २००३ सालमा निर्माण गरिएको हो । मानिसलाई आवतजावत गर्न समस्या भएपछि समाजसेवी स्वर्गीय प्रयागराज पण्डितले २००३ सालमा रामेछाप ठोसे मेक्चनको फलाम खानीबाट काँचो फलाम ल्याई व्यक्तिगत लगानीमा पुल निर्माण गरेको स्थानीय ७५ वर्षीय ज्येष्ठ नागरिक बलबहादुर खड्काले बताउनुभयो ।

जामुनेमै आरन बनाई स्थानीय मजदुरको प्रयोगमा ठोसे मेक्चनको खानीबाट ल्याइएको काँचो फलामबाट साङ्ली बनाई पुल निर्माण गरिएको इतिहास आफूले सुनेको बलबहादुर बताउनुहुन्छ ।

२००३ सालमा झोलुङ्गे पुल निर्माणपछि फलाममा खिया लाग्न नदिन समाजसेवी प्रयागराज पण्डितकै लगानीमा हरेक वर्ष तेल दल्ने गरिएको र यो क्रम पण्डित जीवित हुँदासम्म कायम रहेको बलबहादुरले बताउनुभयो । स्व पण्डितले पुलको संरक्षण गर्न र हरेक वर्ष तेल दल्न आफ्नो जग्गामा निजी गुठीसमेत बनाउनुभएको थियो । आफू त्यही निजी गुठीको जग्गा कमाउने क्रममा २०२७ सालमा जामुने आएको बलबहादुरले बताउनुभयो ।

समाजसेवी पण्डितले विभिन्न ठाउँबाट मानिसलाई ल्याएर आफ्नो जग्गामा निजी गुठी बनाइराखेको र त्यसको आम्दानीबाट पुलको संरक्षण गर्ने तथा प्रत्येक वर्ष तेल दल्ने गरेको स्थानीयको भनाइ छ । तर २०२७(२०२८ सालतिर उहाँको मृत्युपछि तेल दल्ने काम बन्द भएको बलबहादुरको भनाइ छ ।

विगत ५० वर्षदेखि जामुनेमा रहेको ऐतिहासिक झोलुङ्गे पुलको एक्लो रखवाला बनेका बलबहादुर अहिलेको पुस्ताका लागि किंवदन्तीझैं बनेको पुलको संरक्षण आवश्यक रहेको बताउनुहुन्छ । २०४४ सालमा तत्कालीन जिल्ला पञ्चायतले मर्मतमा सहयोग गरेको तर त्यसयता पुलको संरक्षणमा कसैले चासो नदिएको स्थानीयको भनाइ छ ।

अहिले पनि मानिसलाई छोटो बाटो हिँड्न र अध्येताहरुलाई ठोसे मेक्चनको फलामखानीको जानकारी लिन झोलुङ्गेपुल महत्वपूर्ण हुने भएकाले गाउँपालिका र संघीय सरकारले समेत संरक्षणमा चासो दिनुपर्ने स्थानीयको माग छ ।