पेरिस (एजेन्सी) । शुक्रबारदेखि फ्रान्सको राजधानी पेरिस क्षेत्र र १६ प्रान्तमा चार हप्ताका लागि पूर्ण लकडाउन घोषणा गरिएको छ । फ्रान्समा लकडाउन घोषणा गरिएको यो तेस्रो पटक हो ।

प्रधानमन्त्री जँ कास्तेक्सले पूरै पेरिस क्षेत्रलगायत १६ फ्रान्सेली प्रान्तहरूमा कोरोना भाइरसको संक्रमण व्यापक फैलिएकाले त्यसलाई रोक्न पूर्ण लकडाउन गर्नुपरेको बिहीबार साँझ बताएका हुन् । कोरोना भाइरसको खासगरी परिवर्तित रुपले गर्दा महामारी फैलिएकाले कम्तीमा चार हप्ता लकडाउन गर्नुपरेको उनले उल्लेख गरेका छन् ।

उनको घोषणा अनुसार लकडाउन अवधिमा अत्यावश्यक बस्तुहरुका पसलहरु खाद्यान्न, औषधि पसल, सूर्तिजन्य र पत्रिका पसल, गाडी सर्भिसिङ सेन्टरहरु र किताब पसलहरुबाहेक अन्य सबै पसलहरु बन्द रहनेछन् ।

स्कुल र कलेजहरु खुलै हुनेछन् भने विश्वविद्यालयहरु भने बन्द रहनेछन् । रेस्टुरेन्टहरुले भने स्वास्थ्य नियमहरुको कडा पालन गर्दै टेक अवे सुविधा दिन पाउनेछन् ।

लकडाउन गरिएका क्षेत्रबाट लकडाउन नगरिएका क्षेत्रको प्रवेशबीचको आवागमनलाई पूर्णरुपमा निषेध गरिएको छ । पेसागत, उपचार वा अन्य अत्यावस्यक कारणले यात्रा गर्नुपर्नेले कारण खुलेको प्रमाणका साथ यात्रा गर्नुपर्ने छ ।

लकडाउन गरिएका क्षेत्रमा साँझ सात बजेदेखि कर्फ्यु घोषणा गरिएको छ ।