काठमाडौं । नेकपा एमालेको खनाल-नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्तावबाट नाम फिर्ता लिएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट नेकपाको खनाल-नेपाल समूहका १६ जना सांसदले सामूहिक रुपमा नाम फिर्ता लिएका हुन् । प्रदेश १ का प्रस्तावित मुख्यमन्त्रीसमेत रहेका भीम आचार्यसहित १६ जना प्रदेशसभा सदस्यले हस्ताक्षर फिर्ता लिएको पत्र प्रदेश सभा सचिवालयमा दर्ता गराएको प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले बताए ।

मुख्यमन्त्री राईविरुद्ध तत्कालिन नेकपाका ३७ जना प्रदेशसभा सदस्यले पुस १२ गते प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

यस्तै वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव पनि फिर्ता लिइएको छ । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका खनाल-नेपाल पक्षका सांसदले नाम फिर्ता लिएका छन् । खनाल-नेपाल पक्षका २२ जना सांसदले वाग्मती प्रदेश सभा सचिवालयलाई पत्र लेखेर अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले बताए । उज्यालो अनलाइनबाट