झापा । झापाको बुद्धशान्ति गाउँपालिका र मेचीनगर नगरपालिकाको सीमाक्षेत्रबाट ६५.७४ किवी साखुको काठ सहित ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा ट्याक्टर चालक बुद्धशान्ति ४ बस्ने बर्ष ४१ का बलबहादुर लिम्बु, काठ ओसारपसारमा संलग्न बुद्धशान्ति ४ बस्ने बर्ष ३१ का सुमन राई, सोही ठाउँका बर्ष ३० का सुरेन लिम्बु र वर्ष २३ का दिपक तामाङ रहेका छन् ।

गोप्य सूचनाका आधारमा काठ तस्करहरुलाई समाउन प्रहरी सफल भएको हो । इलाका प्रहरी कार्यालय बुधबारे र धुलाबारीको संयुक्त टोलीले उक्त काठ फेला पारेको हो । बुद्धशान्तिबाट धुलाबारीतर्फ लाँदै गरेको अवस्थामा प्रहरीलाई देखेर भाग्न खोजेपछि घेरा हाली प्रहरीले पक्राउ गरेको हो। उनीहरूबाट मे ३प ८३७८ मोटरसाइकल र मे १त १३८३ ट्याक्टर समेत नियन्त्रणमा लिइएको छ ।

पछिल्लो एक महिनामा बुद्धशान्तिबाट प्रहरीले काठ फेला पारेको यो तेस्रो पटक हो । यसअघि कालीखोला र सुनमाईबाट ११ र ३३ किवी काठ बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद गरिएका काठ र सवारीसाधन डिभिजन वन कार्यालय पठाइएको छ ।