काठमाण्डौ । काठमाण्डौसहित देशका विभिन्न ठाउँमा भएको वायु प्रदूषण कम हुँदै गएको छ । विश्वकै सबैभन्दा धेरै प्रदूषण भएको काठमाण्डौसहितका ठाउँहरुमा आकाश खुल्दै गएको छ ।

अहिले काठमाण्डौको हावाको गुणस्तर मापन गर्ने सूचक एक्यूआई २ सयको हाराहारीमा रहेको छ । २ सयभन्दा माथि एक्यूआई भएमा हानिकारक मानिन्छ । यस्तै धनगढी, सौराहालगायतका ठाउँको वायु प्रदूषण पनि सबैभन्दा धेरै देखिएको छ ।

केही दिन थोरै ठाउँमा भए पनि पानी परेकोले वायु प्रदूषण कम हुँदै गएको वातावरण विभागले जनाएको छ । वायु प्रदूषण कम भए पनि अवस्था भने अस्वस्थ नै रहेकाले आवश्यक सावधानी अपनाउन विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलले आग्रह गर्नुभएको छ ।

यस्तै काठमाण्डौको वायु प्रदूषण कम हुँदै गए पनि विश्वभरको तुलनामा शीर्ष स्थानबाट भने तल झर्न सकेको छैन । अहिले पनि संसारकै सबैभन्दा धेरै प्रदूषणको सूचीमा नेपाल कायमै छ । विश्वभरको वायु प्रदूषण कम हुँदै जाँदा नेपालको पनि सुधार भएको तर शीर्ष स्थानमा कायमै देखिएको हो ।