अर्जुनधारा । दुवै मिर्गौला पीडित राजेश सुन्दासलाई स्वास्थ्य उपचारका लागि देशविदेशबाट सहयोग रकम उपलब्ध हुने क्रम जारी छ ।
यसैबीच, प्रवासी अर्जुनधारा सेवा समाज कतारबाट आर्थिक सहयोग उपलब्ध भएको छ । मिर्गौलापीडित सुन्दासका लागि कतारबाट २५ हजार रुपैयाँ उपलब्ध भएको हो ।
अर्जुनधाराबाट वैदेशिक रोजगारीका लागि कतार पुगेका अर्जुनधाराबासीको एक भेलाले श्याम कटुवालको अध्यक्षतामा १२ सदस्यीय समिति गठन गरी आर्थिक संकलन गरेर पठाएको हाे ।
समितिको बरिष्ठ उपाध्यक्षमा कमल राया, महासचिवमा शिशिरबाबु पौडेल, सचिवमा कृष्णकुमार चापागाईं, कोषाध्यक्षमा लोकेश बाँस्कोटा र सहकोषाध्यक्षमा सन्त तामाङ रहेका छन् ।
त्यस्तै, समितिको सदस्यमा टंक कटुवाल, मनोज चोङबाङ, गोपाल न्यौपाने, सुजन सापकोटा, खगेन्द्र खनाल र पारस निरौला छन् भने समितिको बरिष्ठ सल्लाहकारमा छत्र बुढाथोकी रहेका छन् । कतारबाट प्राप्त रकम अर्जुनधारा ७ नम्बर वडा कार्यालय समितिका सदस्य सन्तोष नेम्वाङको उपस्थितिमा समितिका कोषाध्यक्ष लोकेश बास्कोटा र पूर्वउपाध्यक्ष इन्द्र प्रसाद खनालबाट हस्तान्तरण गरिएको हो ।
अर्जुनधारा ७ निवासी सुन्दासको उपचारमा समस्या आएपछि राजेश सुन्दास बचाउ अभियानअन्तर्गतको आर्थिक संकलन समितिले संकलन गरेको पनि रकम आवश्यकताअनुसार हस्तान्तरण गरिँदै आएको छ ।
गएको पुस ६ गते ४७ वर्षीय सुन्दासले आफ्नो जीवन रक्षाका लागि सबैसँग सहयोगको अपिल गरेपछि सामाजिक अभियन्ता कमल पोख्रेलको संयोजकत्वमा ५ सदस्यीय आर्थिक संकलन समिति गठन गरिएको थियो । हालसम्म उपचारका लागि संकलित रकम १ लाख ६५ हजार परिवारलाई हस्तान्तरण गरिसकिएकाे संयाेजक पाेख्रेलले जानकारी दिए ।
परिवारका अनुसार सातामा दुई पटक डायलासिस गर्नुपर्ने र एक पटकमा कम्तिमा ५ हजार खर्च हुने गरेको छ । अर्जुनधारा मन्दिर नजिकै टेलरिङ पेसा गर्दै आएका दुवै मिर्गौला पीडित राजेश थला परेपछि बाँकी परिवारका चार सदस्यको पनि हातमुख जोड्न समस्या रहेको छ ।
संयोजक पोख्रेलले सबैसँग सहयोगको अपिल गर्दै राजेश सुन्दासलाई सहयोग गर्नका लागि एनआईसी एसिया शनिश्चरे शाखाको खाता नम्बर २११५७५१०३३८४९००१ मा रकम पठाउन सकिने जानकारी दिए ।