बिर्तामोड । नेकपा एमालेको माधव नेपाल समूहले समानान्तर कमिटी विस्तारलाई तीव्रता दिएको छ । आफूनिकटका नेता कार्यकर्तालाई संगठित गर्दै माधव नेपाल समूहले नगर र जिल्ला तहमा समानान्तर अभ्यास थालेको हो ।

आज झापामा पनि एमालेको समानान्तर जिल्ला कमिटी घोषणा भएको छ । पुराना कम्युनिष्ट नेता वेदराज रेग्मीको अध्यक्षतामा ३५१ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको हो ।

एमाले झापाका इन्चार्ज रविन कोइरालाले जिल्ला कमिटीका पदाधिकारी र सदस्यको नाम सार्वजनिक गरेका हुन् । कमिटीमा चन्द्रमाया श्रेष्ठ उपाध्यक्ष र नीलमणि बराल सचिव छन् । एकताअघि एमालेको जिल्ला कमिटी १०५ सदस्यीय थियो ।

एमालेभित्र चर्किएको अन्तर संघर्षको परिणामस्वरूप माधव नेपाल समूहले जिल्ला र नगर तहमा समानान्तर कमिटी गठन गर्दै आएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल आफैँ सहभागी भएर एमाले झापाको जिल्ला कमिटी घोषणा गरेका हुन् । कार्यक्रममा सहभागिता जनाउन उनी हिजो नै झापा आएका थिए ।

आज दिउँसो विर्तामोडको सिटी सेन्टरमा आयोजित कार्यक्रमका बीच एमालेको जिल्ला कमिटी घोषणा गरिएको हो । कार्यक्रममा एमाले उपमहासचिव घनश्याम भुसाल, भीम आचार्य, घनेन्द्र बस्नेत पनि सहभागी भए ।

कार्यक्रममा सम्बोधन गर्दै एमाले नेता नरेश खरेलले पार्टीलाई गतिशील र प्रभावकारी बनाउन पुराना र नयाँ नेता कार्यकर्तालाई समेटेर जिल्ला कमिटी बनाइएको बताए ।

कार्यक्रममा युवा सङ्घको जिल्ला कमिटी पनि घोषणा गरिएको छ । १५१ सदस्यीय जिल्ला कमिटीको नेतृत्व राजु धिमालले गरेका छन् । झापा मेचीनगरका स्थायी बासिन्दा धिमाल युवा सङ्घमा निरन्तर सक्रिय छन् ।

युवा सङ्घका केन्द्रीय सदस्य प्रत्युस आजाद रानाले युवा सङ्घका पदाधिकारी र सदस्यको नाम सार्वजनिक गरेका हुन् । युवा सङ्घको उपाध्यक्षमा रञ्जित मेचे, सचिवमा निकास पाण्डे, सहसचिवमा सुमन ओली र कोषाध्यक्षमा मदन मगर छन् ।