ड्रोन सटबाट देखिएको खुदुनाबारी बजार । तस्वीरः इसंचार

अर्जुनधारा । झापाको खुदुनावारीमा एक हप्ताभित्र प्रहरी चौकी सञ्चालन हुने भएको छ । इलामको माइ नगरपालिकासँग सिमाना जोडिएको साविक खुदुनाबारी गाविस अहिले अर्जुनधारा १, २ र ३ नम्बर वडा पर्छ ।

लामो समयदेखिको स्थानीय बासिन्दाको मागअनुसार प्रहरी चौकी स्थापनाको तयारी अन्तिम चरणमा पुगेको हो । यहाँका बासिन्दालाई एउटा सानो सर्जिमिन गर्न पनि शनिश्चरे बजार पुग्नु पर्ने अवस्था थियो ।

‘हामीले वर्षौंदेखि प्रहरी चौकी आवश्यक छ भनेर भनेका थियौं । झलनाथ खनाल प्रधानमन्त्री हुँदा उहाँलाई ज्ञापन पत्र पनि बुझायौं । हाम्रो माग कसैले सुनेको थिएन । अहिले पूर्वमन्त्री अग्निप्रसाद खरेललाई भेटेर चौकीको आवश्यक्ताबारे जानकारी गराएपछि चौकी स्थापना हुन लागेको हो’, अर्जुनधारा ३ का वडाध्यक्ष जीवन भण्डारीले भन्नुभयो, उहाँले प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक लगायतसँग म र २ नम्वर वडा अध्यक्ष रघुनाथ खनाल लगायतका साथीहरुलाई राखेर प्रहरी चौकी स्थापनाका लागि पहल गरिदिनु भयो । माथिसम्म पनि उहाँले लविङ गरेकाले अब प्रहरी चौकी स्थापना हुने अवस्थामा पुगेको छ ।’

वडा अध्यक्ष भण्डारीले अबको एक हप्ताभित्र खुदुनाबारीमा प्रहरी चौकी सञ्चालनमा आउने जानकारी दिनुभयो । ‘पहिले भुटानी शरणार्थी रहेको समयमा स्वास्थ्य चौकीका लागि बनाएको एउटा सानो भवन थियो, स्वास्थ्य चौकीको नयाँ भवन बनेपछि त्यो खाली रहेको थियो । त्यसलाई मर्मत गरेर प्रहरी चौकी सञ्चालन गर्ने तयारी गरेका छौं’, वडा अध्यक्ष भण्डारीले भन्नुभयो, ‘प्रहरी चौकीको मर्मतका लागि नगरको वोर्ड बैठकबाट निर्णय पनि गरेका छौं । असईको कमाण्डमा प्रहरी चौकी सञ्चालन गर्ने विषयले स्थानीयलाई उत्साही बनाएको छ ।’

पूर्वमन्त्री खरेलले स्थानीय वडाध्यक्षहरु, नेकपा एमालेका स्थानीय नेता लोकमान श्रेष्ठ लगायतले प्रहरी चौकी स्थापनाका लागि पहल गर्न आग्रह गरेअनुसार आफूले समन्वयको काम गरेको बताउनुभयो । खुदुनावारी क्षेत्रमा प्रहरी चौकीको आवश्यक्ता अधिक रहेको देखेर समन्वय गरेको पूर्वमन्त्री खरेलको धारणा छ ।