बिर्तामोड । दिनानुदिन कोरोना संक्रमण बढ्दै गएको झापामा विगत १५ दिनमा ७६ जना संक्रमित थपिएका छन् ।

कोरोना संक्रमणको दोस्रो चरण शुरु भएयता करिव दुई सातामा जिल्लामा त्यति धेरै संक्रमित थपिएका हुन् । बुधबार ६ महिला र १० पुरुष गरी १६ जनामा संक्रमण पुष्टि भएको छ भने मंगलबार १२ जनालाई पुष्टि भएको थियो ।

ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा तीब्र रुपमा संक्रमण बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाँईले बताए । उनले दैनिक रुपमा बढ्दो क्रममा संक्रमण विस्तार भइरहेको जानकारी दिए । भारतमा कोरोना संक्रमणको दर बढेसँगै बिहार र पश्चिम बंगालसँग सीमा जोडिएको झापामा दिनानुदिन संक्रमितको संख्या थपिँदै गएको हो ।

अहिले भारत लगायत तेस्रो देशबाट आएका नागरिकलाई सुरक्षित तवरले राख्न नसक्नु मुख्य चुनौती रहेको फोकल पर्सन चौलागाँईले बताए । उनले संक्रमण नियन्त्रण गर्न पीसीआर र एन्टीजेन टेष्ट दुवै गर्ने गरिएको जानकारी दिए ।

बिर्तामोडमा संक्रमण जोखिम
पहिलो चरणमा कोरोनाको हब बन्न लागेको बिर्तामोडमा दोस्रो चरणमा पनि त्यसरी नै संक्रमण विस्तार हुँदै गएको छ । गत चैत १७ गतेयता बिर्तामोडमा ३० जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । करिव दुई महिना शून्य रहेको कोरोनाको संक्रमण चैत १७ गतेदेखि फेरि फैलिन थालेको नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताए ।

बुधबार मात्र बिर्तामोडमा ५ जनालाई संक्रमण पुष्टि भएको छ भने मंगलबार दुई जनालाई पुष्टि भएको थियो । बिर्तामोडमा माघ ४ गतेदेखि करिव दुई महिना संक्रमण देखिएको थिएन । दैनिकजसो संक्रमितहरु थपिदै गएको फोकल पर्सन खड्काले बताए । बिर्तामोडमा हालसम्म १३ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।

हाल झापामा चार हजार ७ सय २६ जना कोरोना संक्रमित भेटिएका छन् । जसमा ४ हजार ५ सय ८ जना उपचारपछि घर फर्किएका छन् । अहिले पनि कोरोना संक्रमित ८९ जना उपचाररत् छन् । झापामा हालसम्म ४० हजार सात सय ७१ जनाको कोरोना परीक्षण गरिएको छ ।

जसमा ३७ हजार तीन सय ५५ जनामा कोरोनाका लागि पीसीआर परीक्षण गरिएको हो । बाँकीको शुरुका दिनमा आरडीटी परीक्षण गरिएको थियो । झापामा हालसम्म १२९ जनाको कोरोनाबाट मृत्यु भएको छ । त्यसमध्ये दुई जनाको भर्खरै केही दिनअघि मृत्यु भएको हो ।