इलाम । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत इलाम नगरपालिकाका पाँच सय ७६ जना विपन्न परिवारले टीनको छाना लगाउन अनुदान पाउने भएका छन् ।

एक परिवारलाई ५० हजार अनुदान दिइने नगरपालिकाले जनाएको छ । नगरभित्र मात्र दुई करोड ८८ लाख वितरण गरिने भएको छ । इलाम नगरपालिकाका १० वटै वडाहरुमा अनुदान पाउने परिवारसँग संझौता गर्ने कार्य सम्पन्न भई छाना लगाउने कामसमेत भइरहेको नगरपालिकाका अमिन हेमसागर सापकोटाले बताए ।

घरमा छाना लागएपछि एक मुष्ट बैंक मार्फत ५० हजारका दरले भुक्तानी गरिने पनि उनले बताए । इलाम नगरपालिकाको वडा नं १ का ५५, वडा नं २ का ४५, वडा नं ३ का ४५, वडा नं ४ का ४५, वडा नं ५ का ५५, वडा नं ६ का ३०, वडा नं ७ का १, वडा नं ८ का ४५, वडा नं ९ का ५५, वडा नं १० का १२३, वडा नंं ११ का ३२ र वडा नं १२ का ४५ विपन्न परिवारले अनुदान पाउने छन् ।

सरकारले खरको छानालाई विस्थापन गर्ने तथा प्रकोप र गरिबीको रेखामुनी रहेका नागरिकले आफैं आवास निर्माण गर्नका लागि जस्ता पाता र सहुलियत दरको काठ खरिदका लागि अनुदान उपलब्ध गराउन उद्देश्यले सुरक्षित नागरिक आवास कार्यक्रम सञ्चालन गरेको छ ।

इलाम नगरपालिकाले भने गुणस्तर र एकरुपताका लागि रातो टीनको प्रयोग गर्नुपर्ने अनिवार्य शर्त राखेको छ ।