झापा । आज बिहान हावाहुरीसँगै आएको चट्याङ लागेर झापा र मोरङमा दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार झापाको कमल-५ सितापुरीमा रुखको हाँगा भाच्चिएर एक जना बालकको मृत्यु भएको छ । बुबासँग नर्सरीमा दाउरा टिप्न गएको बेला ८ बर्षीय योजन राईको बिहीवार मृत्यु भएको हो ।

रतुवा माई वृक्षरोपण आयोजनाको नर्सरीमा दाउरा टिप्न गएको अवस्थामा हावाहुरीले मसलाको रुखको हाँगा भाच्चिएर लाग्दा उनी गम्भीर घाईते भएका थिए । उनको दमक अस्पताल दमकमा पुर्याउनासाथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

त्यस्तै मोरङको कानेपोखरी-२ दलेलीकी ४३ बर्षीया सुकवती राजवंशीको चट्याङले लागेर मृत्यु भएको छ । बिहीबार बिहान साढे ८ बजे पानी परिरहेको बेला घरनजिकै गाईगोरू सार्न जाने क्रममा चट्याङ लागेर उनी गम्भीर घाईते भएकी थिईन् ।

घाईते राजबंशीको उपचारको लागि उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर लगेकोमा अस्पताल पुर्याउनासाथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।