काँकरभिट्टा । कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएपछि स्थानीय प्रशासनले झापाका सीमावर्ती नाकामा आवतजावतमा कडाइ गरेको छ ।
बढ्दो जोखिमको अवस्थालाई ध्यानमा राखेर सीमावर्ती नाकामा सुरक्षा तैनाथी बढाइएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको हो । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले संक्रमणको जोखिम बढ्दै गएकाले सीमावर्ती आवतजावतमा हिजोदेखि थप कडाई गरिएको बताए ।
सीमावर्ती क्षेत्रमा स्थानीय प्रशासनले भारतीय नागरिकको आगमनमा थप कडाइ गरेको छ । झापाको काँकडभिट्टा, भद्रपुर, केचना, गौरीगञ्ज लगायतका सीमावर्ती नाकामा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ । बिना चेकजाँच भइरहेको आगमनलाई रोक्न सुरक्षाकर्मीले पहल थालिसकेका छन् ।
७२ घन्टाभित्रको पीसीआर परीक्षणका आधारमा मात्रै भारतीय नागरिकलाई प्रवेश दिइने गरेको प्रमुख जिल्ला अधिकारी तिम्सिनाले जानकारी दिए । सीमावर्ती क्षेत्रबाट नेपाल भित्रिरहेका नागरिकलाई पनि स्वास्थ्य जाँचपछि मात्रै गन्तव्यसम्म पठाइने गरेको छ ।