झापा । झापामा कोरोना संक्रमितको सँख्या दोब्बर बृद्धि भएको छ । झापामा संक्रमितकाे संख्या दैनिक वृद्धि हुने क्रम जारी छ ।
आइतबार जिल्लाका १८ जना संक्रमित भएकोमा त्यसको भोलिपल्ट आज सोमबार संक्रमितको सँख्या त्यसको दोब्बर बढी ३८ पुगेको छ । कोरोनाको पहिलो लहरमा हटस्पट बनेको दमकमा दोस्रो लहरमा पनि सबैभन्दा बढी संक्रमित भेटिएका छन् ।
दमकमा ७ महिला र ८ पुरुष गरी १५ जनालाई संक्रमण पुष्टि भएको हो । त्यस्तै बिर्तामोडमा दुई महिला, दुई पुरुष, मेचीनगरमा एक महिला, तीन पुरुष, भद्रपुरमा दुई पुरुषमा संक्रमण पुष्टि भएकाे छ ।
यसैगरी, कनकाईमा तीन पुरुष, अर्जुनधारामा एक महिला, दुई पुरुष, गौरीगञ्जमा तीन महिला, तीन पुरुष र शिवसताक्षीमा एक पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
योसँगै जिल्लामा कोरोना संक्रमितको सँख्या ४ हजार ८१९ पुगेको छ । त्यसमध्ये ४ हजार ५१९ डिस्चार्ज भएका छन् । अहिले १६९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोनाबाट १३१ जनाको मृत्यु भएको छ ।