झापा । कोरोना भाइरस संक्रमणको दोश्रो लहर सुरु भएपछि अर्जुनधारा नगरपालिकामा मात्र २६ जना नयाँ संक्रमित फेला परेका छन् । संक्रमित सबै होम आइशोलेसनमा रहेका छन् ।

नगरको स्वास्थ्य शाखाका अनुसार चैत २५ गतेदेखि वैशाख १३ गतेसम्ममा विभिन्न ७ वटा वडाका २६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ११ जना महिला र १५ जना पुरुष रहेको स्वास्थ्य शाखाका मुकुन्द बस्नेतले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी ६ नम्बर वडामा १० जना नयाँ संक्रमित फेला परेका छन् । जसमा ३ जना पुरुष र ७ जना महिला रहेका छन् । सबैभन्दा कम अर्जुनधारा २ नम्बर वडामा १ जना पुरुषमा संक्रमण भएको छ ।

यसैगरी, ९ नम्बरमा ४ जना, ५, ८ र ७ नम्बरमा ३-३ जना र १० नम्बरमा २ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुको शनिश्चरे अस्पताल, काटीहोम, हेल्थ डेस्क, बिएन्डसी, कनकाई र मेची अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

जिल्लामा कोरोना संक्रमण प्रभावित पालिकामध्ये अर्जुनधारा तेस्रो स्थानमा रहेको नगर प्रमुख हरिकुमार रानाले जानकारी दिए । उनका अनुसार जिल्लास्थित डीसीसीएमसीको बैठकमा सबैभन्दा बढी बिर्तामोडमा रहेको जानकारी दिइएको थियो । दोस्रोमा दमक नगरपालिकामा बढी संक्रमित रहेका छन् ।

नगर क्षेत्रमा संक्रमितको संख्या बढ्दै गएपछि हिजो (सोमबार) सीसीएमसी अर्जुनधाराको बैठकबाट सबै विद्यालय बन्द गराउने र उच्च सतर्कता अपनाउने निर्णय भएको छ ।