झापा । मेचीनगर नगरपालिका वडा नं ६ स्थित काँकडभिट्टामा किरात समुदायले प्रयोग गर्दै आएको सामूहिक समाधिस्थल डोजर लगाएर भत्काइएको छ ।

लिम्बु, राई लगायतका किरात समुदायले पचास वर्षदेखि प्रचलनमा ल्याएको समाधिस्थलमा बुधबार नगरपालिकाले डोजर लगाएर नामेट पारिदिएको नेपाल आदिवासी जनजाति महासंघ मेचीनगर समन्वय परिषदका अध्यक्ष ओमप्रकाश खापुङले बताए ।

उनले यो घटनालाई किरात सम्प्रदायको धार्मिक तथा सांस्कृतिक आस्थामाथिको प्रहार भएको प्रतिक्रिया जनाउँदै बिनाशर्त पुनःस्थापनाको माग गरे ।

मेची पुलको दक्षिणपट्टि पाँच कठ्ठामा रहेको सो समाधिस्थलमा २०० भन्दा बढी समाधि रहेको छ । पितृका नाममा राखिएका शिलास्तम्भहरु भताभुङ्ग बनाइएकोमा स्थानीय किरात समुदाय भावविह्वल बनेको उनको भनाई छ ।

धार्मिक संस्कार र पितृहरुसँगको भावनात्मक नाता गाँसिएको पवित्र समाधिस्थल भत्काइएपछि आक्रोशित बनेका महिला र वृद्धवृद्धासहित किरात समुदायको ठूलो सङ्ख्या विहीवार विरोध पत्र बुझाउन नगरपालिका पुगेको थियो ।

नगरप्रमुख विमल आचार्यलाई विरोध ज्ञापन पत्र बुझाउँदै किरात राई यायोक्खा झापाका सचिव केवलराम राईले वर्षौदेखि किरात समुदायले बनाएको समाधिस्थल तथा उनीहरुको आस्थाको केन्द्र नगरपालिकाले भत्काएकोले तत्काल त्यसको पुनःनिर्माण गरिनु पर्ने बताए ।

धार्मिक आस्थामाथि प्रहार तथा जातीय विभेद् हुँदा स्थानीय सरकारले न्याय नदिए चरणबद्ध आन्दोलन र कानूनी उपचारमा जाने राईले बताए ।

यसैबीच, मेचीनगर नगरपालिकाले शुक्रबार विज्ञप्तिमार्फत घटनाप्रति दुःख व्यक्त गरेको छ ।

‘मानवीय संवेदनासंग जोडिएको समाधिस्थल जस्ता संरचना भत्काउने वा नष्ट गर्ने नगरपालिकाको कुनै मनसाय नरहेको भए पनि समन्वयमा भएको कमजोरीका कारण घट्ना भएकोप्रति नगरपालिका दुःख ब्यक्त गर्दछ’, नगरप्रमुख बिमल आचार्यले आज जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ ।

सशस्त्र प्रहरीको बिओपी र मेचीनगरबीचको समन्वयको कमजोरीका कारण समाधिस्थल जस्तो संवेदनशील संरचना भत्किन पुगेको नगरपालिकाले बिज्ञप्तिमा उल्लेख गरेको छ ।