बिर्तामोड । आर्थिक हैसियत गिर्दो अबस्थामा रहेका राजवंशी समुदायको लागि विकराल बन्दै दाइजो प्रथालाई न्यूनीकरण गर्दै जार्ने राजवंशी अगुवाहरुले सामूहिक प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनीहरुले दाइजो प्रथालाई जरैदेखि उखेल्न देशव्यापी सामाजिक अभियान चलाउने सहमतिसमेत जनाएका छन् । आफ्नो आर्थिक हैसियतभन्दा बढी दाइजो दिनुपर्ने कुप्रथा समुदायमा हावी हुँदै गएपछि राजवंशी विकास प्रतिष्ठान झापाले शनिबार बिर्तामोडमा दाइजो न्यूनीकरणसम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम राखेको थियो ।
अन्तरक्रियाका सहभागीहरुले दाइजो कुप्रथा भएकाले अन्य जाति समुदायसँग सहकार्य समन्वय गर्दै समाजबाट जरैदेखि उखेल्नका लागि देशभर सामाजिक अभियान संचालन गर्नेसहितका पाँच बुँदे प्रतिवद्धता जनाएका छन् । उनीहरुले राजवंशी जातिको संस्कार, संस्कृति, परम्परालाई कायम राख्दै असामाजिक कुसंस्कार, अन्धविश्वास र कुरीतिलाई हटाउन हर प्रयत्न गर्ने, शिक्षाको माध्यमबाट संस्कार र चेतनाको विकास गर्दै पैतृक सम्पतिमाथि समान अधिकारसहित श्रम, सीप, शिक्षा र आर्थिक उपार्जनमा महिलाहरुलाई अवसरसहित सहभागी गराउने, दाइजो प्रथा न्यूनीकरणसँगै अन्त्य गर्नका लागि नेपाल सरकारको प्रचलित कानूनलाई स्थानीय सरकारले समेत कार्यविधि बनाई कार्यान्वयन गर्न जोडदार माग गर्ने, समाजमा कुप्रथाको रुपमा व्याप्त महँगो तथा भद्धा विवाहजस्ता कार्यक्रम भएगरेमा त्यस्ता कार्यक्रमलाई रोक्न स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, प्रहरीसमक्ष ध्यानाकर्षण गराउनेसमेत प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा संविधानसभा सदस्य हरिबहादुर राजवंशीले छोरीको विवाहमा ज्वाइँलाई मोटरसाइकल दाइजो दिर्नैपर्ने प्रचलनले समस्या ल्याएको बताए । उनले अरु समुदायभन्दा राजवंशी समुदायमा बढी हाउभाउ र तडकभडक हुन थालेको भन्दै विवाहमा माछा मासु हुनैपर्ने भोजभतेरको प्रचलन गलत भएको प्रतिक्रिया दिए ।
प्रदेश सांसद पूर्णसिंह राजवंशीले हिजोका करोडपति राजवंशीहरु आज रोडपति भएकाले दाइजो प्रथालाई थेग्नै नसकिने बताए । छोरीलाई शिक्षासँगै आत्मनिर्भर बनाउनु पर्ने उनको भनाई थियो ।
प्रधानमन्त्री केपी ओलीका स्वकीय सचिव असारु राजवंशीले आफूहरु आर्थिक रुपमा सम्पन्न भएको भए दाइजोको समस्या हुने थिएन भन्दै आर्थिक हैसियत खस्किदै गएको अनि संस्कार संस्कृति महँगो बन्दा गाह्रो परिरहेको बताए । उनले बद्लिदो समयसँगै समाज रुपान्तरण आवश्यक भएको भन्दै उत्पादनको स्रोत साधनमाथि महिलाको पहुँच विस्तार गरिनु पर्नेमा जोड दिए ।
बिर्तामोड नगरपालिका वडा नं २ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाले प्राणघातक कोरोना जतिकै दाइजो प्रथाले समाजमा असर गरिरहेको बताउँदै वैवाहिक सम्बन्ध गाँस्दा सकेसम्म समान शिक्षा र स्तरलाई कायम गरिनु पर्ने बताए ।
राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा हल्दीबारी गाउँपालिकाका कार्यपालिका सदस्य खगेन राजवंशी, बिर्तामोड नगरपालिका वडा नं ४ का सदस्य राहुल शर्मा, राजवंशी समाज विकास समितिका केन्द्रीय सल्लाहकार पानीलाल राजवंशी, प्राज्ञ पवन राजवंशी, शिक्षकहरु भवानी राजवंशी, निरतलाल राजवंशी, राजवंशी महिला समाजकी केन्द्रीय अध्यक्ष सनम राजवंशी, राजवंशी धर्म संस्कार समितिका अध्यक्ष लखनलाल राजवंशी, थारु कल्याणकारिणी सभाका लवकुमार चौधरीलगायतले दाइजोले घरपरिवार र समाजमा ल्याएको विकृतिका बारेमा आ-आफ्ना अनुभव सुनाएका थिए । प्रतिष्ठानका सचिव इन्द्रसिंह राजवंशीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको संचालन उपाध्यक्ष रुपा राजवंशीले गरेकी थिइन् ।