शनिश्चरे । झापाको अर्जुनधारा ७ मा रहेको शंकर अस्पतालले शनिबार शनिश्चरे बजारमा निःशूल्क मास्क वितरण गरेको छ ।

झापाकै पुरानो बजार शनिश्चरे बजारमा लाग्ने साप्ताहिक हाटमा मास्क नलगाइ आउने व्यक्तिलाई अस्पतालले मास्क वितरण गर्नुका साथै सेनिटाइजर उपलब्ध गराएको थियो ।

सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालले कोभिड १९ को महामारीमा जनचेतना जगाउन मास्क वितरण तथा सेनिटाइजर उपलब्ध गराएको अस्पतालका प्रबन्धक निर्देशक सुजन सिवाकोटीले जानकारी दिए ।

उनका अनुसार शनिश्चरे प्रहरी चौकी र अस्थायी ट्राफिक प्रहरी पोस्टको सहकार्यमा अस्पतालले ७८० थान मास्क वितरण गरेको थियो । अस्पतालले यसअघि पनि नगरबासीको स्वास्थ्यमा पहुँच पुराउन विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

यसैबीच, अस्पतालले नयाँ वर्षको अवसरमा वैशाख मसान्तदेखि निःशूल्क ओपीडी सेवा प्रदान गरेको छ । वैशाख १५ गतेदेखि सुरु ओपीडीमा बरिष्ठ फिजिसियन सन्तोषकुमार यादव, बरिष्ठ सर्जन डा. अश्विनीकुमार रंजन, प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. ममता घिरैया राजवंशी, बालरोग विशेषज्ञ डा. सविन मानन्धर र मेडिकल अधिकृतत्रय डा. सरोजकुमार यादव, डा. शशिचन्द्र यादव र डा. सत्यनारायण यादवबाट सेवा उपलब्ध गराउने जनाएको छ ।

अस्पतालले भिडियो एक्सरे, डिजिटल एक्सरे, इसीजी र ल्याव सेवामा १० प्रतिशत छुट गरेको पनि प्रबन्ध निर्देशक सिवाकोटीले जानकारी दिए ।