ताप्लेजुङ । ताप्लेजुङमा कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका ५ का कोरोना सङ्क्रमित भक्तिमाया तुम्बाहम्फे लिम्बूको गए राति मृत्यु भएको हो ।

बिर्ता सिटी अस्पतालबाट शुक्रबार घर फर्किएकी ८५ वर्षीय लिम्बूको गएराति सङ्क्रमणका कारण मृत्यु भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।

मुटुको समस्याका कारण विगत केही दिन अघिदेखि बिर्ता सिटी अस्पतालमा उपचाररत लिम्बूलाई बिहीबार सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण देखिएपछि परिवारले होम क्वारेन्टिनमा राख्ने भन्दै शुक्रबार घर ल्याएका थिए ।

मृतकका परिवारका सदस्यले दाहसंस्कार गरेका छन् । दाहसंस्कार गर्नका लागि मृतकका आफन्त तथा परिवारका चार जनालाई पिपिइ उपलब्ध गराइएको प्रजिअ पाण्डेले बताए ।

यसैबीच, सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन नेपाली सेनाले नै गर्नुपर्नेमा परिवारलाई नै जिम्मा लगाउनु लापरवाही भएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् । यसले थप सङ्क्रमण फैलिने जोखिम बढेको भन्दै स्थानीयवासीले गुनासो गरेका हुन् ।